न छ उमेरको समय सिमा
न त छ परिबन्ध कसैको
छन् त केवल बाँकी रहेका सेताम्मे केशहरू
खुम्चिएको अनुहारले बयान गरेका अनुभवका केहि कथा
अनि बैंसले लुटेर लगेका केही थान प्रेम कहानी
धमिला नजर भित्र अझै बाँकी छन्
मिठा सपना जस्ता यथार्थका कैयौं सम्झनाका पहाडहरू
अनि हजारौं माइल पार गरेर अझै नथाकेका यी कांपी रहने पैताला
भाग्य लेख्न बिर्सिएका यहि निधार भित्रका किरिङ्ग मिरिङ्ग अक्षर
अझै बाँकी छन् शिशिरले झारेका पात जस्ता पत्र पत्र उप्किने छाला
भित्र जवानिमै मसानघाट बनेको कलिलो मुटु
अझै बाँकी छन् धुलाउन बाँकी केही रिल तस्वीरहरू
अनि बन्जर बनेको मरुभूमिमा क्याक्टस फुलाउने
ती रुमानी याद भरिएका प्रेमकागाथाहरू
केही थान कविताहरू केहि शेर गजलहरू अनि केही टुक्का गीतहरू
अझै बाँकी छ्न तर बाँकी छैनौ त केवल तिमी मात्र तिमी !!