वैशाख ८, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसदको नयाँ नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएको छ । मंगलबार सिंहदरवारमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन् । नयाँ नियमावली मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने जानकारी दिए । नियमावलीमा केही असन्तुष्टि, कमी कमजोरी भए संसदबाट सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । त्यस्तै मस्यौदा समितिका सभापति पराजुलीले समयमा नै कानुन बनाएर जनतालाई न्यायको सुनिश्चितता गर्ने, सुशासनको प्रत्याभूति गराउन सक्ने गरि नयाँ नियमावली तयार गरिएको बताए । नयाँ नियमावली बनाउन चैत्र २३ गते बसेको प्रतिनिधिसभा बैठकले रास्वपा सांसद पराजुलीको संयोजकत्वमा १५ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।
२- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले भेटवार्ता गरेका छन् । मंगलबार भएको भेटवार्तामा नेपालको व्यापार वातावरण सुधार र अमेरिकी कम्पनीहरू भित्र्याउने विषयमा महत्वपूर्ण छलफल भएको बताएका बताइएको छ । सहायक विदेशमन्त्री कपूरले दुवै पक्षबीच व्यापारिक सम्बन्ध अझ नजिक बनाउने विषयमा सहमति बनेको छ । यसबाट नेपालको यातायात, ऊर्जा तथा डिजिटल पूर्वाधार क्षेत्रमा सुधार भई आर्थिक वृद्धि हुने विश्वास व्यक्त गरिएको छ । कपुरले यस्तो सहकार्यले नेपाल र अमेरिका दुवै देशलाई लाभ पुग्ने बताएका छन् ।
३- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने स्पष्ट पारेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बैसाख ८ गते आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारलाई सेवा प्रवाहमा सहजता मिल्ने बताए । नीति अनुसन्धान प्रतिष्ठानका सन्दर्भमा उनले भने- ‘विषय विज्ञ र अनुसन्धानकर्ताको महत्त्व कति रहन्छ भन्ने हामीलाई थाह छ। हामीलाई यस्तो उत्कृष्ट विज्ञता चाहिएको हो, जसले जनप्रतिनिधिले भन्दा पनि गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्न सकुन्। सरकारले विज्ञहरूको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा ग्रहण गर्नेछ।” प्रधानमन्त्री शाहले कुनै पनि बहानाबाजी नगरी विना सङ्कोच नतिजा निकाल्ने गरी काम गर्न दुवै निकायलाई निर्देशन दिए । “कुनै पनि कार्य सम्पादन गर्दा ठोस योजना र सजग कार्यान्वयन आवश्यक हुन्छ। विकासमा विषय विज्ञको भूमिका अतुलनीय हुन्छ, यो तथ्यलाई आत्मसात् गरेर अघि बढ्नुस्,” उनले भने । मन्त्रालयहरूबिच समन्वय नभएको भन्ने तर्क स्वीकार्य नहुने स्पष्ट पार्दै उनले एउटै सरकार मातहत त्यस्तो समस्या हुन नहुने बताए । साथै, बजेट र कानुनी जटिलतालाई काम नगर्ने बहानाका रूपमा प्रयोग नगर्न समेत उनले सचेत गराए । “प्रभावकारी अध्ययन र अनुसन्धानबाट मात्रै परिणाम सम्भव छ। पुराना नीति र ऐनकै भरमा ५० वर्षसम्म काम त चलाउन सकिएला तर सुधार नगरेसम्म देश समृद्ध हुन सक्दैन,” प्रधानमन्त्रीको कथन थियो । सो अवसरमा अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान समयलाई सुधारको स्वर्णिम अवसरका रूपमा लिनुपर्ने र उच्च राजनीतिक प्रतिबद्धताअनुसार काम अघि बढ्ने बताए । उनले विज्ञहरूको ज्ञानलाई सरकारी नीति, कार्यक्रम र बजेटमा रूपान्तरण गर्न निर्देशन दिए । स्पष्ट लक्ष्य, पर्याप्त बजेट, तोकिएको जिम्मेवारी र मापनयोग्य परिणामसहितका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमार्फत ल्याउनुपर्नेमा उनको विशेष जोड थियो। अर्थमन्त्री वाग्लेले विद्यमान संस्थागत संरचनाको सुदृढीकरण, अप्रासङ्गिक प्रावधानहरूको खारेजी र नयाँ आवश्यकता अनुसार नीति विकास गर्ने प्रक्रिया थालनी गरिने जानकारी दिए । उनले नवप्रवर्तनात्मक कार्यक्रमहरूलाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा सुरु गरी सफल भएपछि राष्ट्रिय स्तरमा विस्तार गर्ने रणनीतिबारे समेत चर्चा गरे । छलफलका क्रममा आयोगका पदाधिकारीहरूले आफ्नो क्षेत्रको कार्य प्रगति, चुनौती र बजेटको अवस्थाबारे प्रधानमन्त्रीसमक्ष बिफ्रिङ गरेका थिए । प्रतिष्ठानका कर्मचारीहरूले हालसम्मका अध्ययन–अनुसन्धान सरकारी कार्य प्रणालीका लागि निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै थप जनशक्ति र स्रोतसाधनको मागसमेत गरे । प्रधानमन्त्रीसँगको यस प्रत्यक्ष संवादले आफूहरूलाई थप ऊर्जा र मेहनतका साथ काम गर्ने प्रेरणा मिलेको उनीहरूले भनाई छ ।
४- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मङ्गलवार सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको छ । ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्का देखि धितो लिलाम गर्ने जनाएको छ । सूचनामा भनिएको छ,’नेपाल सरकार (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय) बाट सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समितिको मातहतमा आएका तपसिलबमोजिमका सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूलाई कार्यालयको वेबसाइट र राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन, एसएमएस, फोनलगायतका माध्यमबाट पटक पटक जानकारी गराउँदा पनि हालसम्म ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूले बुझाउनुपर्ने ऋणको साँवा, व्याज तथा हर्जानासमेत नबुझाएको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिनभित्र यस समितिको कार्यालय बुद्धनगर, काठमाडौँमा सम्पर्क गरी आफ्नो हरहिसाब लिई रकम बुझाउनका लागि यो सूचना प्रकाशन गरिएको छ।’ साथै १५ दिन भित्र ऋण फरफारक नगरेमा ऋणी, निजको परिवार र जमानीको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने तथा उनीहरूको नाममा रहेको सम्पत्ति र खाता रोक्का गर्ने जनाएको छ । साथै सार्वजनिक सेवा सुविधा समेत रोक्का गर्ने र कर्जा लिँदा राखिएको धितो लिलाम गर्ने सूचनामा उल्लेख गरिएको छ । सूचनामा भनिएको छ, ‘उल्लेखित मितिभित्र पनि ऋण फरफारक नगरेमा ऋणीहरूको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने, ऋणी तथा निजका परिवार र जमानीको सम्पत्ति र खाताका साथै सार्वजनिक सेवा सुविधा रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाउनुका साथै सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ बमोजिम कर्जा लिंदा लेखिदिएको धितो लिलाम बिक्री वा अन्य व्यवस्था गरी सहकारी संस्थाको सम्पूर्ण लेना रकम असुल उपर गरिने छ।’ आज मात्रै सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । मङ्गलवार को मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा प्युठानका डिल्लीराज आचार्य तथा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई सदस्य नियुक्त गरेको थियो । मन्त्रालयले सहकारीका बचतकर्ताहरूको रकम फिर्ताका लागि चरणबद्ध रुपमा प्रक्रिया अघि बढाएको छ । ऋण असुलीसँगै बचत फिर्तालाई तीव्रता दिने मन्त्रालयको तयारी रहेको छ ।
५- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन वरिष्ठ डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठसहित दुई जनाविरुद्ध घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार श्रेष्ठले निर्माण सेवा सञ्चालन गर्ने व्यवसायी तथा सम्बन्धित संयुक्त उपक्रमहरूबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएका थिए । त्यसपछि सोही रकम प्रयोग गरी देउकला अधिकारी र श्रेष्ठको संयुक्त नाममा विभिन्न सम्पत्ति खरिद गरिएको पाइएको छ । अनुसन्धानका क्रममा पुरातत्व विभागले गरेका ठेक्का सम्झौतामध्ये करिब ६४ करोड २१ लाख रुपैयाँ बराबरका काममा श्रेष्ठ संलग्न रहेको खुलेको छ । ती ठेक्कामा सहजीकरण गरिदिने नाममा उनले घुस माग्ने र लिने गरेको पुष्टि भएको आयोगले जनाएको छ । घुसबापत संकलित करिब ४ करोड २२ लाख ७५ हजार रुपैयाँ विभिन्न मितिमा देउकला अधिकारीको खातामा जम्मा गरिएको र त्यस रकमबाट जग्गा खरिद, सुन खरिद तथा अन्य व्यक्तिलाई भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको छ । आयोगले गैरकानुनी रूपमा आर्जित रकमको स्रोत लुकाउन तथा रूपान्तरण गर्न दुवै जनाले मिलेमतोमा काम गरेको ठहर गर्दै भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण दुवै कसुरमा कारबाहीको माग गरेको छ ।
६- मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थसचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकका निर्णय बारे जानकारी दिदै सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरिएको बताए । त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृत दिने, मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृत दिने निर्णय भएको छ । त्यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने निर्णय भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।
७- पीएम कपमा राम्रो प्रदर्शन गरेका युवा अलराउन्डर सन्तोष यादवले नेपालको राष्ट्रिय टी- २० टिमबाट डेब्यु गर्ने भएका छन् । नेपाल र युएईबीचको आज हुने दोस्रो खेलमा डेब्यु गर्ने भएका हुन् । सन्तोषलाई वार्मअपका क्रममा कप्तान दिपेन्द्र सिंह ऐरीले डेब्यु क्याप दिएका छन् । उनले पिएम कपमा २१ विकेट लिएका थिए भने उत्कृष्ट ब्याटिंग गर्दै २६५ रन समेत बनाएका यादव प्लेयर अफ द सिरिज बनेका थिए । सन्तोष नेपालबाट टी- २० खेल्ने ५५औं खेलाडी बनेका छन् । यसअघि सोमबार पहिलो खेलमा हेमन्त धामीले टी-२० मा डेब्यु गरेका थिए ।
८- गृहमन्त्री सुदन गुरुङ विवादमा परेपछि नेताहरुसँग भेटघाटको दौडधुपमा रहेका छन् । गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोमबार र मंगलबार लगातार भेटवार्ता गरिरहेका छन् । सम्पत्ति विवादमा राजीनाको दबाबमा रहेका गुरुङले मंगलबार सभापति लामिछानेको निवास पुगेर भेटवार्ता गरेको रास्वपा स्रोतले जानकारी दिएको छ । विवादस्पद व्यापारी दिपक भट्टसँग व्यावसायिक साझेदारी रहेको भेटिएपछि गुरुङमाथि छानबिन गर्न सरकार र रास्वपा दुवैमाथि दबाब बढिरहेको छ । त्यस्तै गृहमन्त्री गुरुङलाई पनि राजीनामा दिएर अनुसन्धानमा सघाउन दबाब बढिरहेको छ । मन्त्री गुरुङले भने आफ्नो लगानी बारे स्पष्ट गर्दै शेयर कारोबार गर्नु अपराध नभएको बाताउदै अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् ।
९- नेकपा एमालेका सचिव महेश बस्नेतले ढिलो चाँडो गृहमन्त्री सुदन गुरुङको पद जाने दाबी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले हमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिने बताउदै मन्त्री बन्नुभन्दा चार–पाँच दिन अगाडि तातोपानी जाँदातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ । यदि उनले राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा चार–पाँच दिन अगाडि तातोपानी जाँदातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको बताइँदैछ । यिनको कथित आपराधिक पृष्ठभूमिका कारण ढिलो–चाँडो यिनको पद जानेनैछ ।’ नेता बस्नेतले दिपक भट्टको नाम विगतमा केपी शर्मा ओली, प्रचण्ड र देउवासँग जोडेर बदनाम गरिएको भन्दै अहिले प्रधानमन्त्री बालेन निकट गृहमन्त्री गुरुङ र कार्की आयोगका सदस्य रहेका विज्ञान राज शर्माको समेत भट्ट जोडिएका कम्पनिमा शेयर रहेको खुलेको उल्लेख गरेका छन् ।
१०- नेप्से आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ मा कारोबार भएको थियो । आज होटल्स क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सुर्यकुण्ड हाइड्रो र पाल्पा सिमेन्टको शेयरमा १५ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, शिखर पावरको को शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी डोल्टी पावरको शेयर ८.७१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ३७ करोड ७ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिग मिल्सको ३० करोड १९ लाख बराबरको कारोबार भएको छ ।
११- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई राजीनमा दिन सुझाव दिएका छन् । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत साम्पाङले गृहमन्त्री गुरुङले मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने बताएका हुन् । विवादस्पद कारोबारी दिपक भट्ट व्यवसायमा साझेदारी गरेको भेटिएसँगै गृहमन्त्री गुरुङलाई राजीनामा दिन चौतर्फी दबाब बढेको छ । गृहमन्त्री गुरुङले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलाई समेत आफ्नो बारेमा उठेका विषयमा स्पष्टीकरण दिइसकेको बताइएको छ ।
१२- यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन सुरु गरेको बताएको छ । विभागले छपाई भएका लाइसेन्सहरू द्रुत गतिमा सम्बन्धित कार्यालयहरूमा पठाउने कार्य भइरहेको र सेवाग्राहीले सम्बन्धित कार्यालयबाटै लाइसेन्स लिन सक्ने जानकारी दिएको हो । विभागका अनुसार, चालकहरूले आफूले ट्रायल पास गरेको वा नवीकरणका लागि विवरण पेस गरेको कार्यालयबाटै लाइसेन्स प्राप्त गर्न सक्नेछन् ।
१३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदहरुलाई जिम्मेवारी दिएको छ । रास्वपाले त्यसका लागि कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लम्बिनी प्रदेशमा पाँच, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा छ जना सांसदलाई जिम्मेवारी तोकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका । ती जिम्मेवारी तोकिएका सांसदहरुले ती क्षेत्रका समसामयिक समस्याका विषयमा समन्वय गर्ने महामन्त्री बुर्लाकोटीले बताएका छन् ।
१४- चीनका राष्ट्रपति सी जिनपिङले पहिलोपटक होर्मुज जलडमरूमध्य खुला राख्न अपिल गरेका छन् । अमेरिका र इरानबीच बढ्दो तनावका बीच यस्तो धारणा सार्वजनिक हुनु चीनको अर्थतन्त्रमा परेको दबाबको संकेतका रूपमा हेरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जिनपिङले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानसँग टेलिफोन संवाद गर्दै उक्त समुद्री मार्ग सामान्य आवागमनका लागि खुला रहनुपर्ने बताएका हुन् । चीनले आफ्ना करिब ४० प्रतिशत तेल यही मार्गबाट आयात गर्दै आएको छ । हाल चीनसँग केही महिनाका लागि ऊर्जा भण्डार भए पनि विश्व अर्थतन्त्र लामो समयसम्म सुस्त रहेमा त्यसको असर पर्न सक्ने आँकलन गरिएको छ । अन्तर्राष्ट्रिय व्यापारमा निर्भर चीनको अर्थतन्त्र पहिले नै दबाबमा रहेको छ । यसबीच क्षेत्रका केही देशहरूले चीनलाई थप सक्रिय भूमिका खेल्न आग्रह गरिरहेका छन्, तर चीनले सन्तुलित नीति अपनाइरहेको देखिन्छ । चीनले इरान र खाडी मुलुकहरूसँगको सम्बन्ध कायम राख्दै अमेरिका सँगको तनाव नबढाउने रणनीति लिएको छ । आगामी महिनामा चीन र अमेरिकाका राष्ट्रपतिबीच भेटवार्ता हुन सक्ने चर्चा पनि चलेको छ, जसलाई ध्यानमा राख्दै चीनले सावधानीपूर्वक कदम चालिरहेको विश्लेषण गरिएको छ ।
१५- चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ । भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा वस्तु निर्यात १ खर्ब ८८ अर्ब १९ करोड बराबर भएको थियो । त्यसैगरी, कुल निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँबराबर भएको थियो । भन्सार विभागको रिपोर्ट अनुसार तेस्रो त्रैमासमा वनस्पति तथा जनावरको घिउ र तेल निर्यात उच्च रहेको छ । यसअधिमा १ खर्ब ५ अर्ब रुपैयाँबराबरको घिउ तेल निर्यात भएको छ । त्यसैगरी, कफी, मसला, चिया १४ अर्ब ९८ करोड रुपैयाँ बराबरको भएको छ। तेस्रो त्रैमासमा वस्तु आयात भने १४ खर्ब ९० अर्ब रुपैयाँबराबर भएको छ । गत आवको सोही अवधिमा आयात १३ अर्ब ९ अर्ब रुपैयाँबराबर भएको थियो । ९ महिनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ रहेको छ । यस अवधिमा २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । त्यसैगरी, ९ महिनामा मेसिनरी र मेकानिकल उपकरण तथा पार्टपुर्जा आयातमा १ खर्ब ८ अर्ब रुपैयाँबराबर आयात भएको छ भने १ खर्ब ५ अर्ब रुपैयाँबराबरको फलाम र स्टिलमा खर्च भएको छ। त्रैमासमा ८३ अर्ब ७ करोड रुपैयाँबराबरको सवारीसाधन आयात भएको छ । त्यस्तै कुल वैदेशिक व्यापार आकार १७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । ९ महिनामा गत आवको सोही अवधिमा १४ खर्ब ९७ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो । यस आवमा व्यापार घाटा १२ खर्ब ६७ अर्ब भएको छ । अघिल्लो आव भने ११ खर्ब २१ अर्ब रुपैयाँ भएको थियो । भन्सार विभागका अनुसार भारतबाट नेपालमा ८ खर्ब ४७ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ। नेपालबाट भारततर्फ भने १ खर्ब ८३ अर्ब ९४ करोड रुपैयाँबराबर वस्तु निर्यात भएको छ । चीनबाट ३ खर्ब रुपैयाँबराबरको वस्तु आयात भएको भने १ अर्ब १९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ ।
१६- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयमा प्रयोग हुने पाठ्यपुस्तक र पाठ्यसामग्री सम्बन्धी कडाइ गर्न निर्देशन दिएको छ । केन्द्रका अनुसार नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यक्रम विकास केन्द्रले तयार पारेका वा स्वीकृति दिएका सामग्री मात्रै विद्यालयमा लागू गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ । साथै, केन्द्रले पाठ्यपुस्तकको पृष्ठ संख्या र मूल्य पनि निर्धारित मापदण्डअनुसार हुनुपर्ने स्पष्ट पारेको छ । तर केही प्रकाशनले अनुमति नलिई, कम गुणस्तरका कागज प्रयोग गरी र बढी मूल्य तोकेर पाठ्यपुस्तक बिक्री गरेको गुनासो आएको केन्द्रले जनाएको छ । यस्ता सामग्री विद्यालयमा प्रयोग भइरहेको समेत पाइएको छ । यसले विद्यार्थी र अभिभावकमाथि अनावश्यक आर्थिक बोझ परेको भन्दै केन्द्रले गम्भीर ध्यानाकर्षण जनाएको छ । विद्यालयबाटै पोशाक, किताब तथा स्टेशनरी बिक्री वितरण हुने जस्ता गतिविधि पनि कानूनविपरीत भएको उल्लेख गरिएको छ । केन्द्रले स्थानीय तहसँग समन्वय गरेर यस्ता गतिविधिको अनुगमन गर्न र दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । साथै, गरिएको कारबाहीको विवरण केन्द्रमा पठाउन पनि आग्रह गरिएको छ ।
१७- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १६ सयले बढेर तोलाको ३ लाख १ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ५१६० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५१९० मा कारोबार भएको थियो ।
१८- जापानले घातक हतियार निर्यातमा लगाइएको लामो समयदेखिको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय गरेको छ । प्रधानमन्त्री साने ताकाइची नेतृत्वको मन्त्रिपरिषद्ले नयाँ निर्देशिका स्वीकृत गरेसँगै जापानले अब आफ्ना हतियार अन्य देशमा बेच्न पाउने भएको छ । यो निर्णय दोस्रो विश्वयुद्धपछि अपनाइएको शान्तिवादी नीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ । क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गएपछि जापानले यस्तो कदम चालेको बताइएको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य शक्ति र उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई ध्यानमा राख्दै जापानले आफ्नो रक्षा क्षमता बलियो बनाउने रणनीति अघि सारेको हो । साथै, आफ्नै रक्षा उद्योगलाई विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बढाउने लक्ष्य पनि राखिएको छ । जापानको यस निर्णयलाई उसका साझेदार राष्ट्रहरूले सकारात्मक रूपमा लिएका छन् । विशेषगरी अस्ट्रेलियालगायत केही देशहरूले यसलाई स्वागत गरेका छन् भने दक्षिण–पूर्व एशिया र युरोपका देशहरूले पनि जापानी हतियारप्रति चासो देखाएका छन् । तर चीनले भने यस निर्णयको आलोचना गर्दै क्षेत्रीय तनाव बढ्न सक्ने चेतावनी दिएको छ । जापानभित्र पनि केही समूहले यसको विरोध गर्दै यसले शान्तिवादी संविधानको भावना विपरीत हुने र सुरक्षा जोखिम बढाउने तर्क गरेका छन् । दोस्रो विश्वयुद्धपछि शान्तिपूर्ण राष्ट्रको छवि बनाएको जापानले लामो समयसम्म हतियार निर्यातमा कडा प्रतिबन्ध लगाएको थियो । तर बदलिँदो विश्व परिस्थिति र सुरक्षा चुनौतीका कारण अब नीतिमा परिवर्तन गरिएको हो, जसले आगामी दिनमा अन्तर्राष्ट्रिय सुरक्षा र कूटनीतिक समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ ।
१९- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति ११: ४५ बजेदेखि बिहान ६: ३० बजेसम्म ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सम्पन्न गर्न विमानस्थल बन्द गरिने भएको हो । हाल धावनमार्ग छेउको ट्याक्सीवे क्षेत्रमा निर्माण कार्य भइरहेकाले सुरक्षाका कारण रातिको समयमा पूर्ण रूपमा उडान सञ्चालन रोक्न लागिएको जनाइएको छ । यस अवधिमा यात्रु तथा उडान व्यवस्थापनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विमानस्थल कार्यालयले सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई आवश्यकताअनुसार आफ्नो उडान तथा अवतरण तालिका समायोजन गर्न आग्रह गरेको छ ।
२०- मुम्बई इण्डियन्सले जारी आइपिएलमा गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले गुजरातलाई ९९ रनले पराजित गरेको हो । मुम्बईले दिएको २०० रनको लक्ष्य पछाएको गुजरातले १५.५ ओभरमा अल आउट हुदै १०० रन मात्र बनाएको थियो । गुजरातका लागि वाशिंटन सुन्दरले २६ र शाहरुख खानले १७ रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर अश्वानी कुमारले ४ विकेट लिए भने मिचेल सान्टनर र एएम घजानफारले २-२ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले तिलक बर्माको १०१ रनको शतकीय पारी र नमन धीरको ४५ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाउदै १९९ रन बनाएको थियो । यो मुम्बईको ६ खेलमा दोस्रो जित हो । त्यस्तै गुजरातको ६ खेलमा यो तेस्रो हार हो ।