असार २, काठमाडौँ। मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ । मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए ।

होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरु जोखिममा परेका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको विशेष पहलमा हाल दुई वटा हेलिकप्टरद्वारा उद्धारका कार्यहरु भइरहेका छन् ।
मन्त्री तामाङसमेत उक्त स्थानमा पुगी जनता, प्रहरी प्रशासन तथा सम्बन्धीत निकायसँग छलफलमा जुट्नुभएको छ । त्यस्तै आज दिनभरमा राहतका सामाग्रीहरु समेत उक्त स्थानमा पुर्याई सरकारले जनताको जीवन रक्षामा विशेष काम गर्ने भएको छ । त्यस्तै हाल गृहमन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक समेत बसिरहेको छ ।