मंसिर ४, काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनको तयारीका विषयमा छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका नेताहरू निर्वाचन आयोग पुगेका छन् । छलफलका लागि बोलाएपछि रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बिहान आयोग पुगेका हुन् ।

आयोगले स्थानीय र प्रदेशको निर्वाचन एकैपटक गर्ने प्रस्ताव गरेको छ । यो विषयमा दलहरूबीच समान मत देखिएको छैन । केही दलले स्थानीय निर्वाचन चैत र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा गर्नुपर्ने बताउँदै आएका छन् । निर्वाचन कहिले गर्ने, कसरी गर्ने, विदेशमा रहेका मतदातालाई मतदानको अधिकार दिने कि नदिनेलगायतका विषयमा छलफल गर्न आयोगले राष्ट्रिय मान्यताप्राप्त दलहरूलाई बोलाएको हो ।
फागुनको निर्वाचनपछि प्रमुख दलका शीर्ष नेता एकैथलोमा पहिलोपटक छलफलमा जुटेका हुन् । तर एमाले अध्यक्ष ओली निर्वाचन आयोग पुगेलगत्तै फर्किएका छन् । स्थानीय तहको निर्वाचन तयारीका लागि भन्दै आयोगले बोलाएको छलफलमा भाग लिन पुगेका उनी पुगेलगत्तै काम छ भन्दै फर्किएका हुन् ।