मंसिर ४, काठमाडौं । हाल विश्वको जनसंख्या ८ अर्बभन्दा बढी छ। यसमध्ये क्रिश्चियन धर्मावलम्बीहरूको संख्या सबैभन्दा बढी अर्थात् २ अर्बभन्दा माथि छ। त्यसैगरी, इस्लाम धर्म मान्नेहरूको संख्या पनि २ अर्ब पुगेको छ। यसैबीच, ‘प्यु रिसर्च सेन्टर’ को एक प्रतिवेदनले सन् २०३५ सम्ममा इस्लाम धर्मले क्रिश्चियन धर्मलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो धर्म बन्न सक्ने देखाएको छ।

प्रतिवेदन अनुसार इस्लाम र इसाई दुवै धर्म विस्तार भइरहेका छन् तर इस्लाम निकै तीव्र गतिमा फैलिरहेको छ। प्युका अनुसार यसको एउटा मुख्य कारण अन्य प्रमुख धार्मिक समूहको तुलनामा मुस्लिमहरूका सन्तान संख्या औसतमा बढी हुनु हो। प्युका वरिष्ठ विज्ञ कोनराड ह्याकेटले स्पष्ट पारे अनुसार यो विषय मुख्यतया सन्तानको संख्यासँग सम्बन्धित छ।
सन् २०२० मा विश्वभर २ अर्ब २७ करोड क्रिश्चियन र २ अर्ब २ करोड मुस्लिम थिए। अनुमान अनुसार सन् २०३५ सम्ममा मुस्लिमहरूको संख्या २ अर्ब ५७ करोड पुग्नेछ, जबकि क्रिश्चियनहरूको संख्या २ अर्ब ५२ करोड पुग्नेछ। जनसंख्या वृद्धिको वर्तमान दर कायम रहे सन् २०७० सम्ममा विश्वभर मुस्लिमहरूको संख्या ३ अर्ब ६० करोडभन्दा बढी हुनेछ, जबकि क्रिश्चियनहरूको संख्या ३ अर्बभन्दा केही कम रहनेछ।
प्युका अनुसार सन् २०२० देखि २०७० को बीचमा विश्वको जनसंख्या २९ प्रतिशतले वृद्धि हुने अनुमान छ। यस अवधिमा क्रिश्चियन धर्मावलम्बीहरूको संख्या ३० प्रतिशतले र मुस्लिम धर्मावलम्बीहरूको संख्या ८० प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ।
प्युका अनुसार हिन्दु र यहुदीहरूको कुल संख्या बढिरहेको भए तापनि विश्व जनसंख्यामा उनीहरूको हिस्सा भने घट्ने अनुमान छ। साथै, बौद्ध धर्मावलम्बीहरूको संख्या र विश्व जनसंख्यामा उनीहरूको हिस्सा दुवै घट्ने अनुमान प्युले गरेको छ, जसको एउटा कारण चीन, दक्षिण कोरिया र जापानको कुल जनसंख्यामा आउने भनिएको गिरावट हो।