पौष ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल खरिद-विक्री प्रकरणमा सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार संसद्को राज्य व्यवस्था समितिमा जवाफ दिन पुगेका उनले यस्तो बताएका हुन् ।
‘सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको छु । मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुपर्यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको छु । सरकारको नेतृत्वको हैसियतले मैले एकदमै गम्भीर रूपमा पहल गरेको छु ।’ प्रचण्डले भने । उनले शेयर खरिद-बिक्री स्वाभाविक नभएको पनि बताएका छन् ।
एनसेलको ८० प्रतिशत शेयर रहेको रेनोल्ड होल्डिङ्स कम्पनीको स्वामित्व मलेसियाको आजियाटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको थियो। तर, उक्त किनबेचको पारदर्शितालाई लिएर सरकारमाथि पनि प्रश्न उठिरहेको छ।
एनसेल खरिद-बिक्रीमा जालझेल र गडबड छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद-बिक्री गर्दा सरकारलाई कुनै जानकारी नदिएको बताएका छन्। मंगलबारको राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले एनसेल खरिद–बिक्रीमा जालझेल र गडबड रहेको बताए ।
“एनसेलमा अघिल्लो पटक कर तिर्नुपर्छ भनेर लेखा समितिमा म आफैँ लडेको थिए । यसले ६५ अर्ब जोगाएको हो । अहिले जालझेल भएकै छ, गडबड छ । कर छल्ने, स्वामित्व हस्तान्तरण नगर्ने नियत छ” उनले भने । दाहालले एनसेल प्रकरणमा वैदेशिक लगानीले पार्ने प्रभावबारे पनि अध्ययन गर्न टंकमणि शर्माको नेतृत्वमा समिति बनाइएको बताए।
