भदौ २२, डडेल्धुरा। लगातार भइरहेको वर्षाका कारण डडेल्धुराको अजयमेरु गाउँपालिका–१ स्थित पुईलेक बजार क्षेत्रमा पहिरो गएको छ। वर्षाका कारण जमिन कमजोर बनेपछि बजार क्षेत्रमै पहिरो खसेको हो।

पहिरोका कारण हालसम्म मानवीय क्षति भएको खबर छैन। तर पहिरोले विद्युत् संरचनामा समेत असर पुर्याएपछि पुईलेक क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। लगातार वर्षा भइरहेकाले उक्त क्षेत्रमा थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेको स्थानीयले बताएका छन्। जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा सावधानी अपनाउन तथा अनावश्यक रूपमा पहिरो प्रभावित क्षेत्रमा नजान स्थानीयवासीलाई आग्रह गरिएको छ।
वर्षा नरोकिएसम्म सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा बस्न र कुनै समस्या देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।