• २०८३ भाद्र २२ गते सोमवार

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन !

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २२, काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा काठमाडौं, तारकेश्वर नगरपालिका ८ समावेशी टोलमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । समावेशी टोल सुधार समिति तथा समावेशी महिला भजन–कीर्तन समूहको संयुक्त आयोजनामा सोमबार साँझ ७ बजे कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा टोलवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा समावेशी टोल सुधार समितिका अध्यक्ष खिमराज गिरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै पीडित परिवारसँग ऐक्यबद्धता जनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । गिरीले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई दुःख सहन सक्ने धैर्य र शक्ति भगवानले प्रदान गरून् भन्ने कामना व्यक्त गरे । उनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा सबै तह र तप्काबाट सहयोग आवश्यक रहेको बताए । साथै उक्त कार्यक्रममा महिला उपाध्यक्ष रीता दाहाल र उपाध्यक्ष धुर्ब तिवारी तथा सदस्य चन्द्र ढुङानाले आ- आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले विपत्तिपछि उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका थिए । घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार, विस्थापित परिवारको तत्काल व्यवस्थापन तथा उनीहरूको गाँस, बास र कपासको सुनिश्चितता राज्यको प्राथमिक जिम्मेवारी हुनुपर्नेमा जोड दिइएको थियो ।

त्यस्तै, बाढी तथा पहिरोको जोखिममा रहेका बस्तीको पहिचान गरी पूर्वतयारी, पूर्वसूचना प्रणाली र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो । विपद्का बेला राजनीतिक तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाज एकजुट हुनुपर्ने सहभागीहरूको भनाइ थियो ।

कार्यक्रमको अन्त्यमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै ‘ॐ शान्ति, शान्ति, शान्ति’ उच्चारण गरिएको थियो । समावेशी टोल सुधार समिति र महिला भजन–कीर्तन समूहले आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा सामूहिक रूपमा सहयोग र मानवीय गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । र यसै अनुरूप टोलसुधार समितिले प्रधानमन्त्री राहत कोषमा केही रकम जम्मा गर्ने निर्णय पनि गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस