भदौ २२, कैलाली । कैलाली क्षेत्र नं. ५ का सांसद डा. आनन्दबहादुर चन्द र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टबीच सामूहिक भेटघाट गरी प्रदेशका समसामयिक विषय, जनसरोकारका सवाल तथा वर्तमान परिस्थितिबारे छलफल गरिएको छ। भेटघाटका क्रममा पछिल्लो समय भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको अवस्था, उनीहरूले भोगिरहेको दुःख, पीडा र कठिन परिस्थितिबारे गम्भीर छलफल भएको जनाइएको छ।

बाढीपीडितलाई आवश्यक सहयोग तथा सहकार्य कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ। भेटघाटमा सुदूरपश्चिम भौगोलिक रूपमा टाढा भए पनि विपत्तिमा परेका नागरिकको पीडाको कुनै सीमा नहुने विषयलाई जोड दिइएको थियो। देशको जुनसुकै क्षेत्रमा विपत्ति पर्दा एक नेपालीले अर्को नेपालीको दुःखमा साथ दिनु नै वास्तविक नेपालीपन भएको धारणा व्यक्त गरिएको छ।
भेटघाटलाई राजनीतिक छलफलमा मात्र सीमित नराखी विपत्तिमा परेका नागरिकको सहयोगका लागि साझा अभियानको सुरुवातका रूपमा अघि बढाउने विषयमा समेत जोड दिइएको छ।
पद र राजनीतिक सीमाभन्दा माथि उठेर मानवीय संवेदना, सहयोग र सहकार्यका माध्यमबाट संकटमा परेका नागरिकलाई साथ दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।