• २०८३ बैशाख १० गते बिहिवार

‘प्रदेशसभा संसदीय गतिविधिबारे आमनागरिकलाई सुसूचित गर्नुपर्ने आवश्यकता छ’

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २४, झापा। कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा संसदीय गतिविधिबारे आमनागरिकलाई सुसूचित गर्नुपर्ने बताउनुभएको छ ।

संसदीय पत्रकार मञ्च कोशी प्रदेश र प्रदेशसभा सचिवालयको सहयोगमा आज बिर्तामोडमा आयोजित ‘संसदीय रिपोर्टिङमा डिजिटल मिडिया र सूचनाको प्रयोगसम्बन्धी तालिम’ शुभारम्भ गर्दै उहाँले प्रदेशसभाबारे अझै नागरिकलाई बुझाउन नसकिएको बताउनुभयो ।

“प्रदेशसभाका विषयमा जनता अझै अनभिज्ञ छन् । यसको औचित्य र आवश्यकताबारे बुझाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो, “हाम्रा गतिविधिबारे उपयुक्त जानकारी दिन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका छ । प्रदेशसभामार्फत जनताका पक्षमा भएका काम र यसको आवश्यकताबारे आमनागरिकलाई बुझाउन मिडियाकर्मीको सहयोग अपरिहार्य छ ।”

नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले प्रदेशले सञ्चार विधेयक निर्माण गरिरहेको र यसमा आफूले समेत संशोधनका केही प्रस्ताव पेस गरेको सुनाउनुभयो । उहाँले विधेयक पत्रकार र सञ्चार क्षेत्रको विकासका लागि महत्वपूर्ण भएकाले यसलाई सञ्चारमैत्री बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्यको विधायकी भूमिका थप प्रभावकारी बनाउन पत्रकारले पनि थप सहयोग गर्नुपर्ने तामाङको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरू निमसरी राजवंशी, लखीकुमारी गणेश, गोपाल तामाङ, गोपाल विश्वकर्मा, छविलाल चुडाल, राधाकृष्ण खनाल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, महासङ्घ झापा अध्यक्ष एकराज गिरीलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

तालिममा प्रदेशसभा सचिवालयका शाखा अधिकृत निरोज ढकालले संसदीय खुलापन र कोशी प्रदेशसभामा यसको अभ्यास, संसदीय पत्रकार मञ्चका सल्लाहकार विवेक गौतमले संसद् र पत्रकारबीचको अन्तरसम्बन्ध, कोशी प्रदेशका मुख्यमन्त्री प्रेस सल्लाहकार विक्रम लुइँटेलले सांसद र पत्रकारबीच सूचनाको प्रवाह, जवाफदेहिता र पारदर्शिताको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

संसदीय पत्रकार मञ्च कोशी प्रदेश अध्यक्ष कुमार लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मञ्चका सचिव सुमन सुस्केराले गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस