साउन २८, काठमाडौं । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरि नगरपालिका ६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका ८ मातातीर्थ चोकबाट पक्राउ गरेको हो।
निज अनिल उदास र काठमाडौं महानगरपालिका १२ टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका ३ घर भएका २८ वर्षीय अमृत कुमार बैद्यले २०७६ चैत्र २ गते राति चन्द्रागिरि नगरपालिका १५ विष्णुदेवी घर भएका बा – २ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णु बहादुर श्रेष्ठलाई ढुंगा तथा इँटा प्रहार गरी सख्त घाइते बनाएका थिए ।
घटनामा संलग्न अमृत कुमार बैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने अनिल उदास उक्त घटना पश्चात फरार रहेका थिए । उदासलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त वृत्तले जनाएको छ ।