असार १२, एजेन्सी । डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो प्रि(क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।

खेलको २७ औं मिनेटमा मिकेल डाम्सगार्डको पासमा डोलवर्गले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै डोलवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए । वेल्सका निको विलियम्सले क्लियर गरेको बल नियन्त्रणमा लिदैं उनले ४८ औं मिनेटमा गोल गरेका थिए । खेलको ८८ औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कलाई ३-० को अग्रता दिलाए । जेनसनको पासमा उनले सहजै गोल गरे । त्यसपछि इन्जुरी समयको चौंथो मिनेटमा आन्द्रेसको पासमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ४-० को सानदार जित दिलाए ।
खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । माहेललाई फउल गरेपछि उनलाई सिधै रातो कार्ड दिईएको थियो । यस जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।