मंसिर ५, सिरहा । सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मिर्चैया नगरपालिका–३ डण्डा टोल नजिकबाट २७ वर्षीय दिलीप कुमार मण्डललाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले मंसिर ४ गते राति करिब ८ः२० बजे प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले उनको खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा चुरोटको बट्टाभित्र लुकाइएका ५७ वटा प्लास्टिकका पुडियामा रहेको ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद पदार्थ प्लास्टिकसहित ९.३६ ग्राम र प्लास्टिकबाहेक ३.३६ ग्राम रहेको छ । प्रहरीले उनको साथबाट नेपाली नगद ५ हजार ९ सय रुपैयाँ र एक थान स्क्रिन टच मोबाइलसमेत बरामद गरेको छ ।
नियन्त्रणमा लिइएका मण्डललाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
