असार ८, एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले गरिब देशहरूमा कोरोना भाइरसविरुद्ध लड्न खोपको ठूलो अभाव रहेको जनाएको छ । डब्ल्यूएचओले विश्वव्यापी साझेदारी कार्यक्रममार्फत कोभिड-१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको जनाएको हो ।

डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको बताए । तर विश्वभर फैलिरहेको भाइरसबाट मानिसहरूलाई संरक्षण गर्न उक्त सङ्ख्याको खोप निकै अपर्याप्त रहेको र थप खोप उपलब्धतामा समस्या भइरहेको उनको भनाइ छ ।
हाल सिंगो अफ्रिकी महादेशमा जम्मा २ प्रतिशत जनसंख्याले मात्र खोप लाउन पाएका छन् । अफ्रिकाभर ४ करोड मानिसहरूलाई मात्र खोप दिइएको छ, जुन त्यहाँको जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम भएको रामापोसाले बताए ।
गत वर्षदेखि धनी देशहरूले गरिब देशहरूलाई खोपको मूल्यमा छुट सुनिश्चित गर्ने प्रतिबद्धता जनाएपछि विश्वभर खोपको पहुँच पुर्याउन कोभ्याक्स अभियान थालिएको थियो । यस अन्तरगत नेपाल लगायतका गरिब तथा विकासोन्मुख प्राथमिकतामा रहेको भए पनि खोपको उपलब्धता न्यून रहेको छ ।