कात्तिक ३०, मुगु । मुगुको छायानाथ रारा नगरपालिका ७ टोप्लास्थित ताल्चा–रारा सडक खण्डमा भएको जिप दुर्घटनामा घाइते भएकी अञ्जु थापाको उपचारका क्रममा निधन भएको छ । उनको निधनसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो । काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

यसअघि दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घाइतेमध्ये अञ्जु थापाको उपचारका क्रममा निधन भएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको हो ।
सुर्खेतबाट शनिबार साँझ रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप छायानाथ रारा नगरपालिका–७ टोप्लामा दुर्घटनामा परेको थियो । दुर्घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।