चैत ८, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको फागुन महिनाको मासिक प्रगति समीक्षा कार्यक्रम आइतबार प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरीको कार्ययोजना २०७७, कार्य सम्पादन सम्झौता तथा प्रहरी हवल्दारर प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजनाका बारेमा समीक्षा गरियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फछर्यौट प्रगतिमा नेपाल प्रहरी सधैं झैँ सर्वोत्कृष्ट हुन सफल भएको र यसलाई आगामी दिनमा समेत कायम राख्न सबै प्रहरी कर्मचारीहरु थप उर्जा र मेहनतका साथ लाग्नुपर्ने बताउनुभयो । बेरुजु फछर्यौटमा मेहनतसाथ काम गर्ने प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दै यस कार्यमा पूर्व प्रहरी महानिरीक्षकद्वय सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीको समेत ठूलो योगदान रहेको उहाँले स्मरण गर्नुभयो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पूर्व प्रहरी कर्मचारीहरु लगायत नागरिक समाजसँग समन्वय गर्न सकेमा प्रहरी कार्यमा थप प्रभावकारिता आउने चर्चा गर्दै यसबाट सम्पूर्ण गतिविधिको तथ्याङ्क दुरुस्त रुपमा प्राप्त भई अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कुरामा महत्वपूर्ण सघाउ पुग्ने बताउनुभयो । प्रहरीले गरेका सफल अनुसन्धानहरूले नेपाल प्रहरीको प्रतिष्ठा बढाएको उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड९१९ को प्रभाव अझै कायम रहेको चर्चा गर्दै यसप्रति संवेदनशील भई कार्यक्षेत्रमा खटिनुपर्ने बताउनुभयो । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सडकको प्रयोग तथा सुरक्षा सम्बन्धी अभियानलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुले भर्चुअल रुपमा तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधिले कार्यक्रममा उपस्थित भई शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापन, मानव स्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढिकरण, मानव अधिकार संरक्षण र सम्वर्द्धन, सुरक्षा निकाय तथा अन्य निकायहरुको समन्वय र सहकार्यको प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नविनतम् कार्यको सुरुवात तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे फागुन महिनामा सम्पन्न भएका कार्यहरु सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । साथै प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रतिनिधिले उक्त विभागको लक्ष्य, क्रियाकलाप र प्रगति विवरणबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।