• २०८३ जेष्ठ १६ गते शनिवार

च्याम्पियन्स लिगको फाइनल आज आर्सनल र पिएसजी भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १६, काठमाडौं । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको फाइनल आज राति हंगेरीको राजधानी बुडापेस्टमा हुँदैछ । उपाधिका लागि इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनल र फ्रान्सेली क्लब पिएसजीबीच प्रतिस्पर्धा हुदै छ । नेपाली समय अनुसार यो खेल आज राति ९: ४५ बजेदेखि शुरु हुदैछ ।

दुई दशकभन्दा बढी समयपछि घरेलु लिग उपाधि जितेको आर्सनल इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको ट्रफी उचाल्ने लक्ष्यमा मैदान उत्रिनेछ । यता साविक विजेता पिएसजी लगातार दोस्रो उपाधि जित्दै आफ्नो दबदबा कायम राख्ने योजनामा छ ।

गत सिजनको सेमिफाइनलमा पिएसजीले आर्सनललाई समग्रमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । पहिलो खेलमा १-.० र दोस्रो खेलमा २-१ को जित निकालेको पिएसजी यसपटक पनि बलियो टोलीका रूपमा हेरिएको छ । तर आर्सनलले पछिल्लो एक वर्षमा टोलीमा व्यापक परिवर्तन गरेको बताइएको छ ।

प्रशिक्षक मिकेल आर्टेटाले नयाँ खेलाडी भित्र्याएर टोलीलाई अझ सन्तुलित, आक्रामक र शारीरिक रूपमा बलियो बनाएका छन् । रक्षापंक्तिमा विलियम सालिबा मुख्य आधार मानिएका छन् भने मिडफिल्डमा डेक्लान राइसको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । आक्रमणतर्फ बुकायो साका र भिक्टर ग्योकेरेसबाट टोलीले ठूलो आशा राखेको छ ।

यता पिएसजीका प्रशिक्षक लुइस एनरिकको टोली उत्कृष्ट लयमा रहेको छ । आक्रमण पंक्तिमा ख्भिचा क्भारात्स्खेलिया, उस्मान डेम्बेले र डेजिरे डुएले निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । विशेषगरी क्भारात्स्खेलियाले यस सिजन प्रतियोगितामा गोल र अवसर सिर्जनामा उत्कृष्ट प्रदर्शन गरेका कारण उनी फाइनलका मुख्य खेलाडीमध्ये एक मानिएका छन् ।

विश्लेषकहरूले आर्सनलले सेट पिस, बलियो रक्षा र मध्यभागको नियन्त्रणमार्फत खेल जित्ने प्रयास गर्ने बताएका छन् । यता पिएसजीले तीव्र आक्रमण, छोटो पास र निरन्तर दबाबमार्फत खेल आफ्नो पक्षमा पार्ने रणनीति अपनाउने अनुमान गरिएको छ ।

दुवै टोली आक्रामक लयमा रहेकाले फाइनल प्रतिस्पर्धा रोमाञ्चक र उच्चस्तरीय हुने अपेक्षा गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस