पौष १६, मोरङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको छ । नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड– माधव समूहले दलको नेतामा आचार्यलाई चयन गरेको हो ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । संसदीय दलभित्र पनि अविश्वासको प्रस्ताव दर्ता भएकाले दलको नेताबाट निष्कासन गरी भीम आचार्यलाई चयन गरेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएका छन् ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बुधबार बसेको बैठकले दलको नेताबाट राईलाई हटाएर बहुमत सदस्यले भीम आचार्यलाई दलको नेतामा चयन गरेको पत्र बिहीबार बिहान दर्ता भएको हो । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । यसअघि अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर थियो । हस्ताक्षर गर्ने सांसद कला घले ओली पक्षमा लागेकी छन् ।