असार ४, काठमाडौं । कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष मधुकर यादव र कोषाध्यक्ष विश्वप्रसाद यादव उपर आरोप पत्र दायर गरिएको छ ।
सप्तरी मलेकपुर ५ स्थितमा कृषी उपज तथा पशु हाटबजार निर्माण एवं सञ्चालनको लागि मलेकपुरबाट गाविसका पूर्व गाविस अध्यक्ष मधुकर यादवले जिल्ला पशु सेवा कार्यालय, सप्तरीसँग सम्झौता गरी साविक गाविस मलेकपुरबाट गाउँपरिषदको निर्णय विपरीत रकम पेश्की लिई उक्त रकम खर्च गरी निर्माण गरिएको संरचना व्यक्तिगत प्रयोजनमा ल्याई सरकारी रकम हिनामिना गरेको हुन ।
सरकारी रकम हिनामिना गर्नेलाई कारवाही गरिपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुरका तत्कालीन अध्यक्ष मधुकर यादव र कोषाध्यक्ष विश्वप्रसाद यादवले जिल्ला पशु सेवा कार्यालय, सप्तरीबाट पशु हाटबजारको लागि संरचना निर्माण गर्न भनि रू.५,००,०००।– र मलेकपुर गाविसबाट रू.२,००,०००।– गरी जम्मा ७,००,०००।– तथा स्थानिय श्रमदान समेत गरी जम्मा रू.१०,०२०,६५६।–मध्ये पोखरी जिर्णोद्वार तथा तारबारको लागि रू।७,६०,३९३।७५।– खर्च गरेको र सो पोखरी हाल सार्वजनिक रूपमा प्रयोगमा आएको तर पशु हाटबजारको कार्यालय भवनको लागि रू.२,४२,२६२।३२।– खर्च गरी निर्माण गरेको संरचना निज विश्व प्रसाद यादव आफैंले थप संरचना निर्माण गरी व्यक्तिगत प्रयोजनमा ल्याई सरकारी रकम हिनामिना गरेका हुन ।
अध्यक्ष मधुकर यादव र कोषाध्यक्ष विश्व प्रसाद यादवले मिलेमतो गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर गरेको स प्रमाण पुष्टि हुन आएकोले उनिहरुलाई जनही विगो रू.२,४२,२६२।३२।कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।