• २०८१ जेष्ठ ६ गते आइतवार

कंचनपुरमा पार्टी कब्जा लिने विषयमा २ समूहबीच झडप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १२, कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड – नेता माधव कुमार नेपाल पक्षबीच केन्द्रमा जारी विवादको असर जिल्लाहरुमा पनि परेको छ ।

यसैबीच नेकपाका विभाजित दुई पक्षले कञ्चनपुरको पार्टी कार्यालय कब्जा गर्न खोज्दा दुई पक्षबीच हात हालाहालको अवस्था बनेको छ । नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच आइतबार पार्टी कार्यालयमै हात हालाहाल भएको हो । ओली पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि प्रचण्ड–नेपाल समूहले ताला तोड्ने प्रयास गरेपछि तनावको अवस्था बनेको हो ।

पार्टी कार्यालय परिसरको अवस्था तनावग्रस्त भएपछि स्थानीय प्रशासनले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको जनाएको छ। प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमै भेलाको आयोजना गरेको भन्दै ओली पक्ष विरोधमा उत्रिएको थियो।

अहिले पनि दुवै पक्षका नेता कार्यकर्ताबीच वादविवाद भइरहेको छ। उनीहरुले पार्टी कार्यालय आ–आफ्नो भएको दाबी गर्दै आएका छन् । केन्द्रमा दुई पार्टीको अभ्यास जारी रहँदा विभिन्न जिल्लास्थित पार्टी कार्यलयहरु कब्जा गर्ने होडबाजी नै चलेको छ ।

प्रतिक्रिया दिनुहोस