• २०८३ असार ७ गते आइतवार

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा (एमाले)का ४१ सांसदमध्ये सदनमा उपस्थित बहुमत सदस्यले मतदान गर्नुभएको थियो ।

गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा (माओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टी नेपालका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक सदस्यले मुख्यमन्त्री राईको पक्षमा मतदान गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम(४) बमोजिम मुख्यमन्त्री राईले सभामा विश्वासको मतका लागि सदनमा प्रस्ताव पेश गर्दै सभामा सहभागी सबै राजनीतिक दलका सदस्यसँग पक्षमा मत माग्नुभएको थियो ।

मुख्यमन्त्री राईले राजनीतिक परिस्थितिले संविधान र जनताका अधिकारलाई कमजोर बनाउने काम भएकाले वर्तमान गठबन्धन बनेको जिकिर गर्दै परिवर्तनको सम्वाहक यो सरकारले संविधानको रक्षा गर्ने कुरामा जोड दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस