• २०८३ बैशाख ७ गते सोमवार

अमेरिका र इरानबीच वार्ता कहिले हुन्छ ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ७, काठमाडौं । इरान र अमेरिकाबीच वार्ता जारी रहे पनि तनावपूर्ण अवस्था कायम रहेको छ । इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले वार्ता चलिरहेको भए पनि महत्वपूर्ण विषयमा मतभेद कायम रहेकाले सहमति सजिलै नहुने बताएका छन् ।

दुवै देशबीचको युद्धविराम अप्रिल २२ मा समाप्त हुने समय नजिकिँदै गर्दा इरानले पाकिस्तानमा हुने दोस्रो चरणको वार्तामा सहभागी हुन अस्वीकार गरेको छ ।

इरानले अमेरिकामाथि अत्यधिक माग राख्ने, अव्यवहारिक सर्त अघि सार्ने, बारम्बार अडान परिवर्तन गर्ने र विरोधाभासी धारणा प्रस्तुत गर्ने आरोप लगाएको छ । साथै, गलत सूचना फैलाएको आरोप पनि लगाइएको छ ।

इरानका अनुसार अमेरिकी नौसैनिक नाकाबन्दी युद्धविराम सम्झौताविपरीत रहेको र धम्कीपूर्ण अभिव्यक्तिले अवस्था झनै बिगारिरहेको छ । यस्तो परिस्थितिमा वार्ताबाट सकारात्मक निष्कर्ष आउने सम्भावना न्यून रहेको बताइएको छ ।

यता पाकिस्तानस्थित इरानी राजदूत रजा अमीरी मोगद्दमले पनि अमेरिकाको आलोचना गरेका छन् । उनले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै नाकाबन्दी कायम राख्नु र युद्धको चेतावनी दिनु गलत भएको बताएका छन् ।

इस्लामाबादमा सम्भावित मध्यस्थता वार्तालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । उच्चस्तरीय बैठकअघि सुरक्षाको मूल्यांकन गर्न अमेरिकी सुरक्षा टोलीसमेत पाकिस्तान पुगेको जनाइएको छ ।

यसबीच, इरानले अमेरिकाबाट नयाँ प्रस्ताव प्राप्त भएको जानकारी दिएको छ । ती प्रस्तावको विवरण सार्वजनिक नभए पनि तनाव कम गर्ने र वार्ता अघि बढाउने प्रयाससँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस