कात्तिक २१, काठमाडौं । पाराग्वेका राष्ट्रपति सान्टियागो पेनालाई महाभियोग लगाइँदै नजरबन्दमा राखिएको छ। एउटा बैंक धराशायी हुँदा उत्पन्न संकटका कारण देशको आधाभन्दा बढी जनसंख्या आफ्नो बैंक खातामा पहुँच पाउन नसक्ने अवस्थामा पुगेपछि यो कदम चालिएको हो।

यसै साता ‘उएनो बैंक’ धराशायी भएपछि पेनालाई पदबाट हटाउन सांसदहरूले, जसमा उनकै दलका सदस्यहरू पनि थिए, सर्वसम्मतिले मतदान गरे। त्यसको केही मिनेटपछि नै शुक्रबार पेनालाई पक्राउ गरियो। उक्त बैंकसँग पेनाको निजी व्यावसायिक स्वार्थ जोडिएको छ।
उनले बिहीबार नै राजीनामा दिने प्रस्ताव गरेका थिए। तर, राजीनामा स्वीकार गर्नुको सट्टा सिनेटरहरूले पेनालाई महाभियोग लगाउँदै दुराचारको आरोप लगाए। यसको अर्थ, पूर्वराष्ट्रपतिहरूलाई सामान्यतया प्राप्त हुने उन्मुक्ति अब उनलाई रहने छैन।
पेना, जसले गत वर्षसम्म उक्त बैंकको स्वामित्वमा रहेको कम्पनीमा सेयर लिएका थिए, आफूले कुनै पनि गलत काम नगरेको दाबी गरेका छन्। पेनालाई पदबाट हटाउन लगाइएको महाभियोगमा उनीमाथि स्वार्थको द्वन्द्व रहेको, नियामक निगरानीमा हेरफेर गरेको, पेन्सन कोषको रकम अन्यत्र प्रयोग गरेको र केन्द्रीय बैंकसमेत संलग्न रहेको संस्थागत अनियमितता लुकाउने कार्यमा सहभागी भएको आरोप लगाइएको छ।
विश्वासघात, प्रभावको दुरुपयोग र रकम हिनामिना गरेको आरोपमा उनीसँग शनिबार सोधपुछ गरिने सरकारी वकिल सिल्भिया मार्गरीटा गोन्जालेज भेस्टरले जानकारी दिइन्। पेनाका उपराष्ट्रपती पेड्रो आलियानाले नयाँ अन्तरिम राष्ट्रपतिका रूपमा शपथ लिनुभएको छ। उहाँले यस काण्डबाट प्रभावित लाखौं मानिसहरूलाई “अलपत्र नछोड्ने” प्रतिबद्धता जनाउनुभएको छ।
सन् २०२८ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने आलियानाले भने, “वित्तीय संकटका कारण अहिले कठिन समयबाट गुज्रिरहेका मेरा देशवासीहरूलाई पूर्ण क्षतिपूर्ति दिइनेछ।”