असार २०, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त पार्न आफू लागिपरेको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग पार्टी एकता गराउनकै लागि अध्यक्ष ओली समूहतिर लागेको बताउदै एकअर्काबीच बेस्सरी रिसाएका ओली र नेपालको रिस आफूले शान्त पार्न लागेको उनले बताए ।

उनले भने, ‘माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो, त्यतातिर लागिरहेको छु ।
यसअघि उनले आफू पार्टी एकताकै निम्ति ओली समूहतिर लागेको पनि स्पष्ट पारेका छन् । ‘पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा बामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ,’ उनले भने, ‘एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि । दुईतिर तिनतिर बाँडिएकाहरुलाई नै एकता गराउने हो । अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । सञ्चारकर्मीसँग सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने पनि उनले ठोकुवा गरे।