• २०८३ बैशाख १९ गते शनिवार

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकामा मधानी महायज्ञ हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

फागुन २३, रौतहट । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले यस वर्ष पनि मधानी महायज्ञ आयोजना गर्ने भएको छ । शनिवार नगरपालिकाले पतौरास्थित पुरातात्त्विक महादेव मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी मधानी महायज्ञ विशेष समारोह आयोजना हुनेबारे जानकारी गराएको हो ।

महायज्ञको अवसरमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मेला, सांस्कृतिक कार्यक्रम तथा कुस्ती प्रतियोगिता लगायतको कार्यक्रम हुने आयोजकले जनाएको छ । महादेव मन्दिर प्राङ्गणमा हुने महायज्ञको मुल समारोहको उद्घाटन फागुन २७ गते उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने तथा प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश झासहित संघका विभिन्न मन्त्रीहरुको उपस्थिति रहने आयोजक नगरपालिकाले जानकारी दिएको हो ।

सोही दिन उद्घाटन लगत्तै हुने सांस्कृतिक कार्यक्रममा भारतका भोजपुरी सिने जगतका सुपरस्टार अभिनेत्री अक्षरा सिंह, अभिनेता प्रदीप पाण्डे ‘चिन्टु’ तथा चर्चित नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

“गत वर्षकै निरन्तरता स्वरुप मौलापुर नगरपालिकाले यस वर्ष पनि स्थानीयहरुको उत्साहवर्द्धक सहयोग, सदभाव एवम् सक्रिय सहभागितामा “मधानी महायज्ञ विशेष समारोह-२०७७” को आयोजना गर्न लागेको कुरा यहाँहरु समक्ष सहर्ष जानकारी गराउन चाहन्छौँ ।” नगरपालिको विज्ञप्तिमा उल्लेख छ, “यस वर्ष हामीले यहाँको मौलिक धार्मिक अनुष्ठान मधानी (कमरथुवा) निरन्तर एक हप्तासम्म भारत वृन्दावनको रासलिला (शिवलिला), नेपाल तथा भारतका चर्चित सुपरस्टार तथा कलाकारहरुको साँस्कृतिक प्रस्तुति, विभिन्न खेल तमासा, नेपाल भारतका प्रतिष्ठित कुस्ति खेलाडी (पहलमान)हरुको प्रतिस्पर्धा, देशका विशिष्ट राजनीतिक नेतृत्व एवम् व्यक्तित्वहरुको विशेष उपस्थितिसहितको समारोह आयोजना गर्न लागिएको छ ।”

फागुन २६ गते राति ८ बजे भारत वृन्दावनको रासलिला (शिवलिला) एक हप्तासम्म, फाल्गुन २७ गते दिउँसो १० बजे मधानी महायज्ञ विशेष समारोह-२०७७ उद्घाटन गर्ने तथा दिउँसो ११ बजे देखि नेपाली तथा भारतीय चर्चित कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ । त्यस्तै फाल्गुन २८ गते विहान १० बजे नेपाली तथा भारतीय चर्चित पहलमानहरुको सहभागितामा विशाल दंगल (कुस्ती) प्रतियोगिता आयोजना हुनेछ ।

पर्यटन प्रवर्द्धन गर्नका लागि आयोजना हुन लागेको कार्यक्रम विकास विरोधी तत्वहरुलाई नपचेकोले कार्यक्रम र यस धर्तीलाई बदनाम गर्न उद्धत रहेकोले कुनै पनि भ्रमको पछि नलाग्न आयोजकले आग्रह समेत गरेको छ । गत वर्ष कलाकारहरुमाथि जुत्ता चप्पल प्रहार गर्ने कार्यको सराहना गर्नेहरु नै अहिले विभिन्न भ्रम फैलाएर कार्यक्रमलाई प्रभावित पार्न अर्नगल प्रचारबाजी भएकोप्रति नगरपालिकाले खेद प्रकट गरेको छ । नितान्त नगरपालिका र स्थानीयको कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साहको नाम जोडेर सामाजिक सञ्जाल एवम् मिडियामार्फत मानहानी गर्न खोजिएको कार्यलाई नगरपालिकाले आपराधिक कार्य भन्दै महायज्ञ सफल पार्न आयोजकले आह्वान गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रीना कुमारी साहले ‘अतिथि देवो भव:’ मान्ने हाम्रो समाजमा अतिथिमाथि दुर्व्यवहार गर्नेलाई सराहना गर्ने प्रवृत्ति, बच्चा जन्मेको खुशी भन्दा प्रसुतिको रगतमा दुखी हुने प्रवृत्ति र राजनीतिक प्रतिस्पर्धा गर्नुभन्दा अरुको चरित्र हत्या गरेर आफुलाई सर्वश्रेष्ठ देखाउने प्रवृत्तिलाई परास्त गर्न जरुरी रहेको बताइन् । उनले पुरातात्त्विक महादेव मन्दिरको उत्खनन एवम् पुनर्निर्माण कार्यलाई निरन्तरता दिदै मौलापुरलाई एउटा सुन्दर धाम बनाउने र उक्त मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउन साथ दिन आग्रह गरिन् ।

यस मन्दिरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार गर्न तथा भिजिट नेपाल २०२० लाई सहयोग पुग्नेगरी गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा “मधानी महायज्ञ २०७६” आयोजना भएको थियो । सो अवसरमा भारतीय भोजपुरी सिने जगतका सुपरस्टार दिनेश लाल यादव ‘निरहुआ’, आम्रपाली दुबे, गायिका इन्दु सोनाली तथा नेपाली सिने जगतका सुपरस्टार निखिल उप्रेती, नायिका केकी अधिकारी लगायत दर्जनौँ चर्चित कलाकारहरुको सांगितिक तथा सांस्कृतिक कार्यक्रममा तीन लाखभन्दा बढी दर्शकहरुको सहभागिता रहेको थियो ।

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस