मंसिर १३, चितवन । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सत्तारुरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी दिनमा पुस्तान्तरणको कार्य अपरिहार्य भएको बताउनुभयो ।
आज चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विगतको इतिहासमा जे जस्तो बनाए पनि अबका दिनमा पार्टीमा कुनै पनि समस्या नबल्झाई दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
वर्तमान समयको आवश्यकता र मागका अनुसार अब नेतृत्वले आफ्नो इतिहासलाई सुन्दर पानामा अक्षरले लेखाउनुपर्नेमा जोड दिँदै पार्टी भित्रको विवादलाई समस्या समाधान गरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र विवाद तथा बहस हुुनु स्वभाविक भएको उल्लेख गर्दै पार्टी फुट्न नसक्ने उल्लेख गर्नुभयो ।
नेकपाका देशभरका नेता तथा कार्यकर्ता एकताको पक्षमा रहेको उल्लेख गर्दै उहाँले अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको दुवै प्रतिवेदनलाई सचिवालयले छलफल गरी निश्कर्षमा पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयो । सचिवालयको बैठकले नटुंग्याए स्थायी कमिटीको बैठकले पार्टीको विवादलाई समाधान गरी समृद्धिको यात्रामा अगाडी बढाउने विश्वास दिलाउनुभयो ।
पार्टीको विवादलाई टुंग्याउन कार्यकर्ताले गुटगत रुपमा आरोप प्रत्यारोपमा नलागी एकाताको पक्षमा जोड दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले एकतालाई टुटाउने नभई जोड्दै जानुपर्नेमा जोड दिनुभयो ।