• २०८३ कार्तिक ९ गते आइतवार

एसिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’सँग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ७, काठमाडौं । एसिया कप राइजिङ स्टार्स पुरुष क्रिकेट प्रतियोगिता २०२६ आगामी नोभेम्बर १९ देखि कतारमा आयोजना हुने भएको छ । ५० ओभरको प्रारूपमा सञ्चालन हुने प्रतियोगितामा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । त्यस्तै, समूह ‘ए’ मा श्रीलंका ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ चीन छन् ।

नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’सँग खेल्नेछ । दोहास्थित वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उक्त खेलपछि नेपालले नोभेम्बर २२ मा यूएईसँग प्रतिस्पर्धा गर्नेछ । यूएईसँगको खेल दोहा विज्ञान तथा प्रविधि विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।

नेपालले समूह चरणको अन्तिम खेल नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग खेल्नेछ । उक्त खेल पनि दोहा विज्ञान तथा प्रविधि विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुनेछ ।

समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २६ र दोस्रो सेमिफाइनल नोभेम्बर २७ मा हुनेछ । प्रतियोगिताको उपाधिका लागि नोभेम्बर २९ मा फाइनल खेल हुनेछ ।

नेपालले समूह चरणमा भारत ‘ए’, यूएई र पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दै सेमिफाइनल प्रवेशका लागि प्रयास गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस