मंसिर ४, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा घुस रकम सहित पक्राउ परेका छन । नायब सुब्बा शिव शंकर महतोले फर्मको दर्ता प्रमाण-पत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु. १०,०००।– (दश हजार) घुस बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा सेवाग्राहीले फर्म दर्ता गर्ने प्रयोजनको लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौं जाँदा नायब सुब्बा महतोले बिभिन्न बहाना बनाई आलटाल गरी घुस रकम दिएमा काम छिटो गरिदिने भनी घुसमाग गरी लिएको पुष्टि हुन आएको थियो ।
उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा महतोलाई बिगो रु. १०,०००।– (दश हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।