• २०८३ बैशाख ११ गते शुक्रवार

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
वैशाख ११, नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अग्र्यानिक मेवाखेतीबाट प्रशस्त आम्दनी हुने गरेको छ । सुस्ता गाउँपालिका-३ रैवा निवासी ४० वर्षीय अर्जुन सहानीले जिल्लामा व्यावसायिक रूपमा मेवाखेती सुरु गरी हालसम्म रु तीन लाख आम्दानी गर्नुभएको हो ।
कोरियाको वैदेशिक रोजगारीबाट फर्किएपछि परिवारसँग मिलेर अग्र्यानिक मेवाखेती गर्न थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरियाबाट मेवाखेतीसम्बन्धी तालिम लिएर नेपाल फर्किएपछि अहिले व्यावसायिक रूपमा खेती गर्न थालेको एक वर्ष भयो । अहिले मेवा बगैँचामा दैनिकी बित्ने गरेको छ ।”
करिब रु दुई लाख ५० हजार लागतमा १० कट्ठा जग्गामा ८०० मेवाका बिरुवाबाट खेती सुरु गरेको बताउँदै सहानीले अहिलेसम्म रु तीन लाखको मेवा बिक्री गरिसकेको जानकारी दिनुभयो । नारायणी नदीको नजिक मेवाखेती गरिरहेकाले बाढीले कुनै क्षति गरेन भने यस वर्ष रु सात लाखभन्दा बढीको मेवा बिक्री गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार परासी, मणिग्राम, भुमही र भैरहवाका व्यपारीले प्रतिकिलो रु ५० का दरले खेतबाटै खरिद गरेर लैजान्छन् । “रेडलेडी ७८६ ताइवान जातको मेवा हो, यो जातको मेवा बलौटे (दोरस) माटोमा फल्छ”, सहानीले भन्नुभयो ।
जिल्लामा एक जनाले मात्र व्यावसायिक रूपमा मेवाखेती गरेका बर्दघाट सुुस्ता पश्चिम नवलपरासी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो । मेवाखेतीसम्बन्धी अरु किसानलाई ज्ञान नभएको, सबै ठाउँमा दोरस माटो नभएकोलगायत कारणले अरु किसानले मेवाखेतीमा रुचि नदेखाएका उहाँको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस