कार्तिक ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अंकित रहेको बताउनुभएको छ । आइतबार नेपाल सम्वत् ११४१ सुरू भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि सबैलाइ एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।

उहाँले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेको बताउनुभयो । यसमा साथ दिएर नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने उहाँको भनाइ छ । सिङ्गो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताउँदै उहाँले भन्नुभएको छ, ‘एकताको यस राष्ट्रिय पुँजीलाई हामीले देश निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरेका छौँ । हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरूलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौँ ।’