• २०८३ मङ्सिर १३ गते शनिवार

लगानीको वातावरण बनाउन तत्पर छौं : उद्योगमन्त्री साह

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर १२, भैरहवा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले सरकार मुलुकमा लगानीको वातावरण बनाउन तत्पर रहेको बताएका छन् । उनले उद्योगी–व्यवसायीको साथ पनि सरकारले खोजिरहेको बताएका हुन् । शनिबार भैरहवामा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री साहले वर्तमान सरकार सोहीअनुसार अघि बढिरहेको बताएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई मन्त्री बनाउने बेला एउटै कुरो भन्नुभएको थियो,त्यो सम्झिन्छु र त्यही कारणले आज म यहाँ उपस्थिति भएको छु । उहाँ दुवैजनाको एउटै भनाइ थियो, तपाईले उद्योगी–व्यवसायीको मन जित्नुस् र ९६ खर्ब जुन राष्ट्र बैंकमा थुप्रिएको छ, जसको ब्याज मात्र सरकारले लिनुपरेको छ । त्यो रकम उद्योग–व्यवसायमा कसरी चलायमान बनाउने, त्यसको लागि काम गर्नुहोस भनेर उहाँहरुले जिम्मा दिनुभएको छ, त्यसको लागि २४ सै घण्टा खटेको छु,’ मन्त्री साहले भने ।

उनले उद्योग विभागमा एकद्वार प्रणालीलाई सशक्त बनाउन लागिपरेको बताए । उनले उद्योग मन्त्रालयलाई आफ्नै घर सम्झिन आग्रह गरे ।

उनले आफ्नो पारिवारिक पेशा नै व्यवसाय भएको र पढाइको पेशा इन्जिनियरिङ÷औद्योगिक क्षेत्र भएकोले उद्योगी–व्यवसायीको अथाह माया भएको बताए । मञ्चमा मात्र भाषण गर्नुभन्दा बसेर समस्या समाधानका लागि चिन्तित हुनुपर्ने उनको भनाइ थियो ।

यसपटक दशैं–तिहारमा कुनै उद्योगीलाई पक्राउ नगरिएको उनले बताए । तर, कारवाही भने अन्य वर्षभन्दा धेरै भएको उनले जानकारी दिए । आफू मन्त्री बनेको १७ दिनमा साल्ट टे«डिङले तीन लाख जरिवाना तिरेको उनले बताए ।

‘एकीकृत भन्सार जाँच चौकी (आईसीपी) कसरी छिटो सञ्चालन गर्न सकिन्छ, त्यसका लागि एक्शन प्लान मागेका छौं, हस्तकला दिवस मंसिर २८ गते मनाउनका लागि गृह मन्त्रालयमा पत्राचार गरेका छौं,’ उनले भने ।

त्यस्तै प्रतिनिधिसभा सदस्य डा.लेखजंग थापाले आयात कि निर्यात गर्ने उद्योग खोल्ने भन्ने विषयमा गहन छलफल हुन आवश्यक रहेकोमा जोड दिए । उनले निर्यातमुखी उद्योगको प्रवद्र्धन गर्ने खालको नीति ल्याउनुपर्ने बताए ।

लुम्बिनी प्रदेशका शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनी प्रदेश सरकार सँधै केन्द्र सरकारको साथमा रहेको बताए । उनले पर्यटनका माध्यमबाट मात्रै मुलुकमा आर्थिक समृद्धि हुने बताए ।

नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा अर्थतन्त्रका विषय केन्द्रमा आउँदा खुसी भएको बताए । उनले अर्थतन्त्र ‘कर्नर’ मा परेर प्राप्त लोकतन्त्रले सार्थकता नपाउने र आम नागरिकले अनुुभुति गर्ने वातावरण बन्न नसक्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योगको विकास र व्यवसायको प्रवद्र्धन नभएसम्म देशको आर्थिक अवस्था राम्रो हुन नसक्ने बताए । उनले विशेष आर्थिक क्षेत्र (सेज) मा भएका अव्यवहारिक ऐनलाई संशोधन गर्नुपर्नेमा जोड दिए ।

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले निजी क्षेत्र आर्थिक विकास, रोजगारी सिर्जना, राजस्व परिचालन र उत्पादन विस्तारको प्रमुख साझेदार भएको बताए । उनले निजी क्षेत्रको मनोबल उच्च राख्ने, लगानी सुरक्षित गर्ने र उत्पादन तथा व्यापारलाई प्रतिष्पर्धी बनाउनुपर्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार