• २०८३ मङ्सिर १३ गते शनिवार

सहसंयोजक नेपालको निर्देशन : कमिटीमा नआउने र जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताको रेकर्ड राख्नु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १२, काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीका कमिटीहरूलाई सक्रिय र प्रभावकारी बनाउन बैठकमा अनुपस्थित हुने तथा जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताको अभिलेख राख्न निर्देशन दिएका छन् । शनिबार पार्टीको उपत्यका प्रदेश समितिको बृहत् प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टीका प्रत्येक कमिटीले आफ्ना सदस्यहरूको सक्रियता, उपस्थिति र जिम्मेवारी निर्वाहको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने बताए । कमिटीमा बस्न चाहने तर जिम्मेवारी पाएपछि काम नगर्ने र बैठकमा समेत उपस्थित नहुने प्रवृत्ति पार्टीभित्र देखिएको उनको भनाइ थियो ।

उनले भने, ‘एक–एक व्यक्तिको रेकर्ड राख्नुहोस् । अहिले समस्या के छ भने मलाई फलानो कमिटीमा राखिएन भन्ने तर फलानो कमिटीमा राखेपछि जिम्मेवारी पूरा गर्दैनन्, बैठकमै पनि आउँदैनन् । विशेष कारणले नआउनु बेग्लै कुरा हो । तर बैठकमा आएपछि रचनात्मक र सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्छ ।’

नेपालले कमिटीका बैठकमा गहन छलफल गरी विषयवस्तुको निष्कर्ष निकाल्ने, त्यसअनुसार सदस्यहरूलाई जिम्मेवारी दिने र जिम्मेवारी पूरा भए–नभएको अनुगमन गर्ने पद्धति विकास गर्नुपर्नेमा जोड दिए । जिम्मेवारी पूरा गर्ने कार्यकर्तालाई प्रोत्साहित गर्नुपर्ने र काम नगर्नेहरूको कमजोरीबारे पनि समीक्षा गर्नुपर्ने उनले बताए ।

उनले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ र विशेष निर्देशन–३ अध्ययन गर्नसमेत कार्यकर्तालाई आग्रह गरे । पार्टीका निर्देशनहरू ह्वाट्सएप समूहमा पठाइए पनि कार्यकर्ताले अध्ययन नगर्ने समस्या रहेको भन्दै उनले सम्बन्धित समितिले निर्देशन पढे–नपढेको विषयमा समेत खोजी गर्नुपर्ने बताए ।

‘अन्तरपार्टी निर्देशनको पाना १ देखि अन्तिम पानासम्म पढ्ने कति जना हुनुहुन्छ भनेर सोध्नुपर्ने आवश्यकता छ । अरू सबै थोक मोबाइलमा गर्न सकिन्छ तर मोबाइलमा भएको ह्वाट्सएप समूहमा आएका पार्टीका निर्देशनहरू पढ्न सकिँदैन,’ उनले भने ।

नेपालले राष्ट्रिय जागरण अभियानलाई राष्ट्रियता, जनताको अवस्था र समाजवाद निर्माणसँग जोडेर अघि बढाउनुपर्ने बताए । राष्ट्रियता सङ्कटमा रहेको उल्लेख गर्दै उनले विदेशी शक्तिहरूले नेपालको भूमिमाथि बक्रदृष्टि लगाउन सक्नेप्रति पार्टी र कार्यकर्ता सजग हुनुपर्ने धारणा राखे ।

नेपालको भूमिलाई छिमेकी राष्ट्रविरुद्ध वा अन्य कुनै सैन्य गतिविधिका लागि प्रयोग हुन नदिन पार्टीले जनतामाझ सचेतना फैलाउनुपर्ने उनको भनाइ थियो । उनले नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई कायम राख्दै दुवै छिमेकीसहित विश्वका सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनुपर्ने बताए ।

‘हामी कसैसँग शत्रुता चाहँदैनौँ । हाम्रो देश सगरमाथाको देश त हो नै, तर बुद्धको पनि देश हो । बुद्धको शान्तिको सन्देश संसारमा हामीले सम्प्रेषण गर्नुपर्छ,’ उनले भने ।

Sharing

प्रतिक्रिया दिनुहोस