• २०८३ कार्तिक १७ गते सोमवार

एसिया कप खेल्ने नेपाली यू–१९ टोलीको बिदाइ, पहिलो खेल भारतसँग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १६, कास्की । ओमानमा आयोजना हुने एसिसी पुरुष यू–१९ एसिया कप २०२६ मा सहभागी हुन जाने नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोलीलाई पोखराबाट बिदाइ गरिएको छ। पोखरा महानगरपालिका, नेपाल क्रिकेट सङ्घ (क्यान) र गण्डकी प्रादेशिक क्रिकेट सङ्घले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी १५ सदस्यीय टोलीलाई प्रतियोगितामा सफलताको शुभकामनासहित बिदाइ गरेका हुन्।

नेपाली टोली सोमबार साँझ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै ओमान प्रस्थान गर्नेछ। प्रतियोगिता कात्तिक १९ देखि २८ गतेसम्म सञ्चालन हुनेछ।

बिदाइ कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्दै आएको उल्लेख गर्दै युवा खेलाडीले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले खेलाडीको मेहनत, लगनशीलता र सामूहिक प्रयासले सफलता प्राप्त हुने बताउँदै प्रतियोगिताका लागि शुभकामना दिए।

टोलीका कप्तान विपिनप्रसाद शर्माले छोटो तयारी भए पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम चिनाउने लक्ष्य राखेको बताए।

त्यस्तै, प्रशिक्षक वसन्त शाही ठकुरीले अभ्यास खेलबाट खेलाडीले नयाँ सीप सिकेको उल्लेख गर्दै प्रतियोगिता युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने र राष्ट्रिय टोलीसम्म पुग्ने महत्वपूर्ण अवसर भएको बताए।

प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले कात्तिक १२ देखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा पाँच दिन बन्द प्रशिक्षण गरेको थियो।

समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र यूएई

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। नेपालले प्रतियोगिताको पहिलो खेल कात्तिक २० गते बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। त्यसपछि पाकिस्तान र यूएईसँग प्रतिस्पर्धा गर्नेछ। युवा नेपाली टोलीको लक्ष्य एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता प्रमाणित गर्नु रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस