• २०८३ असोज १० गते शनिवार

अमेरिकी मध्यावधि चुनावअघि ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा सिमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १०, काठमाडौँ । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको छ । वाल स्ट्रिट जर्नलको सर्वेक्षणअनुसार सन् १९९० यता मध्यावधि निर्वाचनअघि कुनै पनि राष्ट्रपतिले पाएको यो सबैभन्दा कम अनुमोदन दर हो ।

लोकप्रियता घटिरहे पनि ट्रम्पले रिपब्लिकन उम्मेदवारहरूको पक्षमा प्रचार अभियान तीव्र बनाउने तयारी गरेका छन् । पोलिटिकोका अनुसार उनले आयोवा, फ्लोरिडा, टेक्सास र अलास्कामा चुनावी कार्यक्रम गर्नेछन् भने अर्को साता ओक्लाहोमामा पनि जाने कार्यक्रम छ ।

यसैबीच अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई मतदाता अभिलेख प्रमाणीकरणका लागि संघीय नागरिकता डाटाबेस प्रयोग गर्न अनुमति दिएको छ । एबीसी न्यूजका अनुसार ६–३ को निर्णयमा अदालतले गृह सुरक्षा विभागलाई ४० वर्ष पुरानो अध्यागमन डाटाबेस राज्यहरूले गैरनागरिक मतदाता पहिचान गर्न प्रयोग गर्न दिने बाटो खोलेको हो । ट्रम्पले गैरनागरिक मतदानलाई स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि ठूलो चुनौती भन्दै आएका छन् ।

यसैबीच इरानसँगको तनाव पनि चुनावी माहोलमा प्रमुख विषय बनेको छ । वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम अस्वीकार गरेका छन् । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै पत्रिकाले नोभेम्बरको मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः सैन्य कारबाही गर्ने अपेक्षा ट्रम्पले आफ्ना सहयोगीसमक्ष व्यक्त गरेको जनाएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सेप्टेम्बर २२ मा सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने सम्भावना रहेको तर आवश्यक परे इस्लामिक गणतन्त्रलाई ‘छिट्टै समाप्त पार्ने’ विकल्प पनि खुला रहेको बताएका थिए । यता इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सातदिने योजनामार्फत पश्चिम एसियाको द्वन्द्व अन्त्य, होर्मुज जलडमरूमध्य पुनः सञ्चालन र त्यसपछि इरानको आणविक कार्यक्रमबारे व्यापक वार्ता सुरु गर्ने प्रस्ताव अघि सारेका छन् । एएनआई

Sharing

प्रतिक्रिया दिनुहोस