मंसिर ११, काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकार राजेन्द्र विष्टको ४२ वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ ।
लामो समयदेखि कलेजोसम्बन्धी समस्याबाट पीडित विष्टको उपचारका क्रममा बिहीबार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको थियो ।

महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी शोक वक्तव्यमा पत्रकार विष्टप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय विष्ट महासङ्घ कञ्चनपुर शाखामा आबद्ध हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस)मा नेपाली समाचार सम्पादन शाखामा कार्यरत हुनुहुन्थ्यो ।
सुदूरपश्चिम प्रदेशबाट पटकपटक महासङ्घको केन्द्रीय प्रतिनिधिका रूपमा प्रतिनिधित्व गर्नुभएका विष्टको निधनले नेपाली पत्रकारिता क्षेत्रले अनुभवी, कर्मठ, कुशल र जुझारु युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ ।