• २०८३ बैशाख २३ गते बुधवार

सरकारले जनताका समस्यालाई उच्च प्राथमिकता राखेको छ : शहरी विकास मन्त्री कुमार खड्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १५, कास्की । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथमिकता राखेर काम गरेको बताएका छन् । सोमबार महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन सरकारले जनमुखी काम गरेर प्रदेशलाई समृद्ध बनाउने बताए ।

मन्त्री खड्काले पोखरामा रहेका गुफाहरूको विकासका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने र छुट्टै अधिकार सम्पन्न समिति बनाएर काम थाल्ने समेत वताए । उनले भने, ‘पोखरामा रहेका गुफाहरूको योजनाबद्ध विकासका लागि अधिकार सम्पन्न समिति बनाएर काम गर्ने योजनामा प्रदेश सरकार छ । यसका लागि सरकारले योजना बनाएकाले छिटै अगाडि बढ्छ ।

उनले प्रदेश सरकार पोखराका महेन्द्र गुफा, चमेरे गुफा र गुप्तेश्वर गुफा लगायतको विकासका लागि योजनाबद्धरुपमा अगाडि बढ्ने योजना सुनाए । मन्त्री खड्काले महेन्द्र गुफाको विकासका लागि सरकारले बजेट विनियोजन गरेको बताउँदै थप बजेटका लागि केन्द्र सरकारसँग समन्वय गर्ने बताए । ‘गुफाहरूको विकासका लागि प्रदेश सरकारले थोरै भएपनि बजेट विनियोजन गरेको छ, तर, यो पर्याप्त छैन,’ उनले भने, ‘यसको भौतिक पूर्वाधार निर्माणसँगै आवश्यक संरचना निर्माणका लागि केन्द्र सरकारसँग समन्वय गर्ने छौं ।

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटकीय क्षेत्रको विकासका लागी सरकार गम्भीर रहेको बताउँदै पर्यटन क्षेत्रमा बढ्दो आर्थिक गतिबिधिबाटै समृद्धि प्राप्त गर्न सकिनेमा जोड दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस