असोज ६, धनगढी। धनगढीमा जारी टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप–२०८३ अन्तर्गत तेस्रो दिन सम्पन्न चार खेलमा थन्डर्स, लम्की–चुहा नगरपालिका, बझाङ जिल्ला क्रिकेट संघ र धनगढी क्रिकेट क्लब विजयी भएका छन्। कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा फाप्ला क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा तेस्रो दिनका खेलहरू रोमाञ्चक र प्रतिस्पर्धात्मक बने।

थन्डर्सको ३५ रनको शानदार जित
तेस्रो दिनको पहिलो खेलमा थन्डर्सले धनगढी योद्धाजलाई ३५ रनले पराजित गरेको छ। टस जितेर धनगढी योद्धाजले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको थन्डर्सले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनायो। थन्डर्सका लागि केशव बिष्टले १८ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए। अजय कडालले ९ बलमा १९ रन बनाउँदा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै सनम बुढाले ८ बलमा २ चौकासहित ११ रनको योगदान दिए।
धनगढी योद्धाजका मनिष रावलले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए भने रोशन वमले २ ओभरमा ६ रन खर्चेर २ विकेट हात पारे। ९८ रनको लक्ष्य पछ्याएको धनगढी योद्धाजले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो। इशान्त बुढाऐरले १७ बलमा २ चौका र ३ छक्कासहित ३१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
थन्डर्सका ट्राभिस जैशीले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए। प्रविन हमालले १ ओभरमा ७ रन खर्चेर २ विकेट लिए। उत्कृष्ट बलिङ प्रदर्शन गरेका थन्डर्सका ट्राभिस जैशी प्लेयर अफ दी म्याच घोषित भए।

लम्की–चुहा नगरपालिकाको २९ रनको जित
तेस्रो दिनको दोस्रो खेलमा लम्की–चुहा नगरपालिकाले कैलाली जिल्ला क्रिकेट संघ प्रशिक्षण केन्द्रलाई २९ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको लम्की–चुहा नगरपालिकाले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ८५ रन बनायो। भुपेन्द्र शाहीले अविजित ३१ रनको महत्वपूर्ण योगदान दिए। उनले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कप्तान रविन भण्डारीले आक्रामक ब्याटिङ गर्दै ६ बलमा २ चौका र १ छक्कासहित १८ रन बनाए। क्षितिज थापामगरले १४ बलमा २ चौकासहित १७ रन जोडे।
कैलाली जिल्ला क्रिकेट संघ प्रशिक्षण केन्द्रका मुकेश चन्दले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए। ८६ रनको लक्ष्य पछ्याएको प्रशिक्षण केन्द्रले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो। कप्तान आयुश ढुङ्गानाले २५ बलमा २ चौका र २ छक्कासहित २९ रन बनाए। मुकेश चन्दले १७ बलमा १ छक्कासहित १५ रन जोडे।
लम्की–चुहा नगरपालिकाका विपिन प्रसाद शर्माले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ६ रन खर्चेर २ विकेट लिए। दिपेश जोशीले पनि २ ओभरमा २२ रन खर्चेर २ विकेट हात पारे। बलिङतर्फ प्रभावशाली प्रदर्शन गरेका विपिनप्रसाद शर्मा प्लेयर अफ दी म्याच घोषित भए।
बझाङको रोमाञ्चक ३ विकेटको जित
तेस्रो दिनको तेस्रो खेलमा बझाङ जिल्ला क्रिकेट संघले घोडाघोडी क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ८० रन बनायो। कप्तान राजदिप आचार्यले २० बलमा १ चौका र १ छक्कासहित २२ रन बनाए। पारस धामीले केवल ५ बलमा १ चौका र २ छक्कासहित अविजित १८ रन बनाए भने स्वरुप चौधरीले ४ बलमा २ चौका र १ छक्कासहित अविजित १५ रनको योगदान दिए। बझाङका लोकेन्द्र चन्द, कप्तान अशोक धामी र सुशील रावलले समान १–१ विकेट लिए।
८१ रनको लक्ष्य पछ्याएको बझाङले ९ ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएर लक्ष्य पूरा गर्यो। बझाङका लोकेन्द्र चन्दले उत्कृष्ट ब्याटिङ गर्दै १७ बलमा १ चौका र ३ छक्कासहित २८ रन बनाए। हिमाल दौल्यालले १० बलमा ३ चौकासहित १४ रन तथा दार्श सुनारले ९ बलमा १ छक्कासहित १० रन बनाए।
घोडाघोडी क्रिकेट एकेडेमीका हरिश बस्नेतले २ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। ओमराज घिमिरेले २ ओभरमा २२ रन खर्चेर २ तथा सुदांशु रावलले २ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। ब्याटिङतर्फ महत्वपूर्ण योगदान गर्दै बझाङलाई जित दिलाउन भूमिका खेलेका लोकेन्द्र चन्द प्लेयर अफ दी म्याच घोषित भए।
धनगढी क्रिकेट क्लबको ११ रनको रोमाञ्चक जित
तेस्रो दिनको चौथो तथा अन्तिम खेलमा धनगढी क्रिकेट एकेडेमीले सुदूरपश्चिम ब्वाइज होस्टेललाई ११ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको धनगढी क्रिकेट क्लबले निर्धारित १० ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनायो। कप्तान विपिन रावलले १३ बलमा २ चौका र १ छक्कासहित १४ रन बनाए। दिनेश अधिकारीले ९ बलमा २ छक्कासहित १३ रन तथा दीपक बोहराले ५ बलमा १ चौका र १ छक्कासहित १० रनको योगदान दिए। सुदूरपश्चिम ब्वाइज होस्टेलका नागराज सिंहले २ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए।
८१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ब्वाइज होस्टेलले १० ओभरमा सबै विकेट गुमाउँदै ६९ रन मात्र बनाउन सक्यो। क्रीश ऐरले ९ बलमा २ चौका र १ छक्कासहित १६ रन बनाए। सुमित बुडालले १२ बलमा १ छक्कासहित ११ रन तथा आयुश द्वारियाले ८ बलमा १ छक्कासहित अविजित १० रन बनाए। निरज ऐरले ९ बलमा १ चौकासहित १० रन जोडे।
धनगढी क्रिकेट क्लबका हेमन्त धामीले २ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। दीपक बोहराले २ ओभरमा १० रन खर्चेर ३ विकेट तथा भोजराज भट्टले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका धनगढी क्रिकेट क्लबका दीपक बोहरा प्लेयर अफ दी म्याच घोषित भए।
चार खेलमा चार फरक विजेता
प्रतियोगिताको तेस्रो दिन सम्पन्न चार खेलमा चार फरक टोली विजयी भएका छन्। पहिलो खेलमा थन्डर्सले धनगढी योद्धाजलाई ३५ रनले, दोस्रो खेलमा लम्की–चुहा नगरपालिकाले कैलाली जिल्ला क्रिकेट संघ प्रशिक्षण केन्द्रलाई २९ रनले, तेस्रो खेलमा बझाङले घोडाघोडी क्रिकेट एकेडेमीलाई ३ विकेटले र चौथो खेलमा धनगढी क्रिकेट क्लबले सुदूरपश्चिम ब्वाइज होस्टेललाई ११ रनले पराजित गरेको हो।
यससँगै टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। फाप्ला क्रिकेट मैदानमा जारी प्रतियोगिताका आगामी खेलहरूले समूह चरणको समीकरणलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।