• २०८३ असोज २ गते शुक्रवार

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २,रौतहट । देशकै प्रमुख आर्थिक नगरी वीरगञ्जस्थित भन्सार कार्यालयले चालू आर्थिक वर्षको दोस्रो महिनामा लक्ष्यको करिब शतप्रतिशत राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयले भदौ महिनामा मात्रै २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरेको हो।भदौ ३१ गतेसम्मको तथ्यांकअनुसार कार्यालयले पाएको मासिक राजस्व लक्ष्यको ९९.७५ प्रतिशत रकम संकलन भएको छ। भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार भदौ मसान्तसम्मको संकलनले चालू आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत हिस्सा पूरा भएको छ।

वीरगञ्ज नाकाबाट आयात हुने वस्तुमध्ये बिस्कुट, दलहन, तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्नले राजस्वमा ठूलो योगदान गर्दै आएका छन्। चालु आर्थिक वर्षको सुरुवाती दुई महिनाको राजस्व असुलीलाई हेर्दा वीरगञ्ज भन्सारले आफ्नो लक्ष्य क्रमशः पछ्याउँदै लगेको देखिन्छ। आयात–निर्यात कारोबारमा आएको गतिविधिसँगै भन्सार राजस्व संकलनमा समेत सुधार देखिएको कार्यालयको तथ्यांकले देखाएको छ।

भन्सार कार्यालयका अनुसार भदौ ३१ गते वीरगञ्ज भन्सार नाकाबाट पैठारी भई जाँचपास भएका प्रमुख २० वस्तुबाट मात्रै ४१ करोड ८३ लाख रुपैयाँ राजस्व उठेको थियो।

भन्सार कार्यालयले आयात हुने वस्तुको परिमाण, मूल्य र राजस्व योगदानका आधारमा राजस्व संकलनको अवस्थालाई निरन्तर विश्लेषण गर्दै आएको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस