• २०८३ भाद्र ९ गते मङ्गलवार

आप्रवासी श्रमिकका विषयमा एनआरएनए र आईएलओबीच सहकार्य गर्ने सहमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौं । गैरआवासीय नेपाली संघ-एनआरएनए र अन्तर्राष्ट्रिय श्रम संगठनबीच नेपाली आप्रवासी श्रमिकको सुरक्षा, मानसिक स्वास्थ्य, आपत्कालीन सहयोग, पुनःस्थापना र सीप उपयोगका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । एनआरएनए अध्यक्ष हेमराज शर्माको नेतृत्वको टोली र आईएलओका नेपाल प्रमुख नुमान ओज्कानबीच भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न सरकार, गैरसरकारी संस्था तथा प्रवासी नेपाली समुदायबीच समन्वय थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

एनआरएनएले विदेशमा रहेका नेपाली श्रमिकको हकहित र संरक्षणसँगै उनीहरूले हासिल गरेको ज्ञान, सीप तथा अनुभव नेपालमा उपयोग गर्ने कामलाई अघि बढाउँदै आएको जनाएको छ । आईएलओका नेपाल प्रमुख ओज्कानले आप्रवासी श्रमिकका वास्तविक समस्या बुझेर लक्षित समुदायसम्म प्रत्यक्ष रूपमा पुग्ने कार्यक्रम आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारीमा जानुअघिको तयारीदेखि स्वदेश फर्किएपछिको पुनःस्थापनासम्मलाई समेटेर आप्रवासनसम्बन्धी व्यवस्थित प्रणाली बनाउनुपर्नेमा जोड दिए ।

बैठकले सामाजिक सुरक्षा, मानसिक स्वास्थ्य, सीप उपयोग, पुनःस्थापना तथा श्रमिक कल्याणका क्षेत्रमा एनआरएनए, आईएलओ, सरकार र अन्य साझेदार संस्थाबीच सहकार्य थप मजबुत बनाउँदै कार्यक्रम सञ्चालन गर्ने आवश्यकता औंल्याएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस