वैशाख २२, काठमाडौं । रुस र युक्रेनले ‘विजय दिवस’ अघि फरक–फरक समयमा युद्धविराम घोषणा गरेका छन् । रुसले शुक्रबार र शनिबारका लागि युद्धविराम घोषणा गरेको छ भने युक्रेनले बुधबार राति १२ बजेदेखि युद्ध रोक्ने जनाएको छ ।

रुसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको हारको ८१औँ वार्षिकोत्सवका अवसरमा यस्तो निर्णय गरेको जनाएको छ । तर समारोहमा कुनै अवरोध भए किभमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरिने चेतावनी पनि दिइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार रातिदेखि युद्धविराम पालन गर्ने तर रुसबाट हुने हरेक गतिविधिको जवाफ दिइने बताएका छन् । उनले युद्धविरामको अवधि भने खुलाएका छैनन् । यस वर्ष मस्कोको रेड स्क्वायरमा हुने विजय दिवस परेड फरक ढंगले आयोजना गरिने भएको छ । सम्भावित ड्रोन आक्रमणको जोखिमका कारण ट्यांक र ठूला हतियारहरू परेडमा समावेश गरिने छैनन् ।
रुसले किभमा रहेका सर्वसाधारण र विदेशी दूतावासहरूलाई शहर छाड्न समेत चेतावनी दिएको छ । यसअघि पनि पटक–पटक युद्धविराम प्रयास भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको थिएन । करिब दुई दशकपछि पहिलोपटक मस्कोको परेड भारी हतियार बिना आयोजना हुन लागेको हो । सुरक्षा कारणले अन्य धेरै शहरहरूमा पनि परेड सीमित वा रद्द गरिएको छ ।
रुसका लागि ‘विजय दिवस’ अत्यन्त महत्वपूर्ण दिन मानिन्छ । यसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले देशको शक्ति र देशभक्तिसँग जोडेर हेर्ने गरेका छन् ।