चैत २१, काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी प्रक्रिया आजदेखि औपचारिक रूपमा अघि बढाउने भएको छ। केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार कांग्रेसले शनिवारबाट महाधिवेशन केन्द्रित कार्यक्रमहरू सुरु गर्न लागेको हो।

प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको बैठकले आगामी असोज १६–१९ गते महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरेको थियो।
सोही कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने योजना तय गरिएको छ। क्रियाशील सदस्यता वितरणका लागि खटिने प्रतिनिधिहरूलाई आज दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा ‘ओरिएन्टेसन’ कार्यक्रम राखिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।