• २०८३ असार १७ गते बुधवार

रास्वपाको स्पष्टीकरण: एक लाख ३३ हजार सदस्य प्रमाणिकरण हुन बाँकी छ, कानुनविपरीत भेटिए खारेज गर्छौं

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १७, काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ बर्ष मुनिका ३५ हजार भन्दा बढीलाई पार्टी सदस्यता दिएको विषयमा स्पष्टीकरण दिएको छ । महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै हाल १ लाख ३३ हजार ३५३ सदस्यता आवेदनको नागरिकता प्रमाणीकरण अझै बाँकी रहेको बताउदै १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सदस्यता बनाएको विषयमा भएका टिप्पणीप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले नागरिकता प्रमाणीकरण गर्दा कानुनविपरीत भेटिए सदस्यता तत्काल खारेज गरिने बताएका छन् । रास्वपाले प्रथम महाधिवेशनमा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनमा समावेश तथ्यांक प्रमाणित सदस्यहरूको आधिकारिक अभिलेख नभई डिजिटल प्रणालीमा दर्ता भएका प्रारम्भिक सदस्यता आवेदनको विश्लेषण मात्र रहेको जनाएको छ ।

पार्टीका अनुसार डिजिटल प्रणालीमा हाल ५ लाख २३ हजार ४६५ सदस्यता आवेदन दर्ता भएका छन् । तीमध्ये ३ लाख ९० हजार ११२ जनाको नागरिकता तथा अन्य आधिकारिक कागजातका आधारमा प्रमाणीकरण सम्पन्न भइसकेको छ भने १ लाख ३३ हजार ३५३ आवेदन अझै प्रमाणीकरण प्रक्रियामै छन् ।

रास्वपाले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, बालबालिका सम्बन्धी ऐन र पार्टी विधानअनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिक मात्रै पार्टी सदस्य हुन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै १८ वर्षमुनिका व्यक्तिलाई सदस्य बनाउने नीति वा अभ्यास पार्टीको नरहेको दाबी गरेको छ ।

पार्टीका अनुसार सदस्यता आवेदनका क्रममा आवेदकले आफैं विवरण प्रविष्ट गर्ने भएकाले वि.सं. र ई.सं. पात्रो छनोटमा भएको त्रुटि, जन्ममिति टाइप गर्दा भएको गल्ती वा जन्ममितिको सट्टा हालको मिति राखिएका कारण केही आवेदकको उमेर प्रणालीमा वास्तविकभन्दा कम देखिएको प्रारम्भिक समीक्षाबाट खुलेको बताएको छ ।

रास्वपाले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरिएको जनाउँदै अब १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई प्रणालीले स्वतः रोक्ने व्यवस्था लागू गरिने बताएको छ । साथै, प्रमाणीकरण भइसकेका अभिलेखको समेत पुनः परीक्षण गरी १८ वर्षभन्दा कम उमेरका व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइए तत्काल खारेज गरिने जनाएको छ ।

पार्टीका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवन महाधिवेशनको बन्दसत्रमा पेस गरेको सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा मुनिका बालबालिका ३५ हजार २५७ जनालाई सदस्यता वितरण गरेको उल्लेख गरेका थिए । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ उपदफा २ मा १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिक मात्र राजनीतिक दलको सदस्य बन्न योग्य हुने व्यवस्था छ ।

यस विषयमा रास्वपालाई राष्ट्रिय मानव अधिकार आयोगले सामेत स्पष्टीकरण सोधेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस