• २०८३ कार्तिक १२ गते बुधवार

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३ बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ घर भएका ३२ वर्षीय अमृत तामाङ, काठमाडौं महानगरपालिका–२४ बस्ने ४२ वर्षीय विशाल बज्राचार्य र काठमाडौं महानगरपालिका–४ बस्ने लमजुङ दोर्दी गाउँपालिका-६ घर भएका ४९ वर्षीय पुड्के तामाङ रहेका छन् ।

पक्राउ मध्ये अमृतले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ, विशालले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४७ हजार ५ सय रुपैयाँ र पुड्केले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमृतलाई काठमाडौं महानगरपालिका–११ बाट सोमबार तथा विशाल र पुड्केलाई काठमाडौं महानगरपालिका–१२ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस