• २०८३ कार्तिक १२ गते बुधवार

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत कर लगाउने धम्की दिएको ट्रम्पको दाबी

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

कात्तिक ११, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी गरेका छन् । व्यापारलाई दबाबको माध्यम बनाएर आणविक शक्ति सम्पन्न दुई छिमेकीबीचको तनाव थप बढ्न नदिएको उनको भनाइ छ । टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित मध्यावधि निर्वाचनसम्बन्धी सभालाई सम्बोधन गर्दै ट्रम्पले आफूले अन्त्य गरेको दाबी गरेका आठ युद्धमध्ये पाँचवटा व्यापारसम्बन्धी उपायमार्फत समाधान गरेको बताए । त्यसको उदाहरणका रूपमा उनले भारत र पाकिस्तानबीचको द्वन्द्व उल्लेख गरे ।

‘मैले आठवटा युद्ध अन्त्य गरेँ । तीमध्ये पाँचवटा युद्ध व्यापारको प्रयोगबाट अन्त्य भएका हुन, जस्तै भारत र पाकिस्तान,’ ट्रम्पले भने । भारत र पाकिस्तानबीच सैन्य तनाव बढिरहेका बेला आफूले दुवै देशका प्रधानमन्त्रीलाई सम्पर्क गरेको र युद्ध जारी राखे गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएको उनले बताए ।

‘मैले दुवै देशका प्रधानमन्त्रीलाई फोन गरेर युद्ध जारी राखे दुवैमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने र अमेरिकामा व्यापार गर्न नसक्ने अवस्था सिर्जना गर्ने बताएँ,’ ट्रम्पले भने । उनका अनुसार दुवै देशका नेताले सुरुमा यस्तो कदमप्रति असहमति जनाएका थिए । तर, आफूले शुल्क लगाउने निर्णयबाट पछि नहट्ने बताएपछि दुवै पक्षलाई सैन्य कारबाही रोक्ने बहाना मिलेको हुन सक्ने उनले टिप्पणी गरे ।

ट्रम्पले आफ्नो हस्तक्षेपपछि तत्काल युद्ध रोकिएको दाबी गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफूले कम्तीमा तीन करोड मानिसको ज्यान बचाएको बताएको उल्लेख गरे । यसअघि अक्टोबर २३ मा फ्लोरिडामा आयोजित चुनावी सभामा पनि ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न आफूले भूमिका खेलेको दाबी गरेका थिए । दुवै देशलाई अमेरिकासँग व्यापार गर्न नदिने चेतावनी दिएपछि गोली चल्न रोकिएको र युद्ध अन्त्य भएको उनको भनाइ थियो ।

भारतले अस्वीकार गर्दै आएको छ ट्रम्पको दाबी

भारतले भने द्वन्द्वका क्रममा ११ वटा विमान खसालिएको भन्ने ट्रम्पको दाबीलाई निरन्तर अस्वीकार गर्दै आएको छ । साथै, भारतले भारत–पाकिस्तानबीचको युद्धविराममा कुनै तेस्रो पक्षको मध्यस्थता अस्वीकार गर्दै आएको छ ।

भारतका अनुसार ‘अपरेसन सिन्दूर’का क्रममा सैन्य कारबाही रोक्ने सहमति पाकिस्तानका सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) ले आफ्ना भारतीय समकक्षीसँग सम्पर्क गरी कारबाही रोक्न आग्रह गरेपछि भएको थियो ।

भारतले गत वर्ष मे ७ मा पाकिस्तान र पाकिस्तानको नियन्त्रणमा रहेको जम्मु–कश्मीर क्षेत्रमा आतंकवादी पूर्वाधारलाई लक्षित गर्दै ‘अपरेसन सिन्दूर’ सुरु गरेको थियो । अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा सुरु गरिएको उक्त कारबाही मे १० मा पाकिस्तानको अनुरोधपछि स्थगित गरिएको भारतको भनाइ छ ।

ट्रम्पले आफूले अन्तरराष्ट्रिय द्वन्द्व समाधान गर्न भूमिका खेले पनि नोबेल शान्ति पुरस्कार नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । अक्टोबर १० मा सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै उनले आफूले आठवटा युद्ध समाधान गरेको र थप दुई द्वन्द्व अन्त्य गर्ने वा समाधान गर्ने नजिक पुगेको दाबी गरेका थिए ।

नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा भारतीय मूलकी दक्षिण अफ्रिकी न्यायविद् नवी पिल्लेलाई अन्तरराष्ट्रिय शान्ति र कानुनी शासन प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै सन् २०२६ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसपछि ट्रम्पले आफूले गरेका भनिएका कूटनीतिक प्रयासका बाबजुद पुरस्कार नपाएको विषयमा प्रश्न उठाउँदै आएका छन् । एएनआई

Sharing

प्रतिक्रिया दिनुहोस