साउन २५, काठमाडौं। साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । साउनका प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा आराधना गर्दै आएका महिला तथा अन्य श्रद्धालुहरू आज विधिपूर्वक व्रत समापन गर्न पशुपति पुगेका छन् । साउन महिनाका अन्य सोमबार व्रत बस्न तथा पूजाआजा गर्न नपाए पनि अन्तिम सोमबार व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । भगवान् शिवको प्रिय बारका रूपमा मानिने सोमबार श्रद्धालुहरूले व्रत, पूजापाठ, दान तथा विभिन्न धार्मिक कार्य गर्ने परम्परा रहँदै आएको छ ।

अन्तिम सोमबार भक्तजनको संख्या बढी हुने भएकाले बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा लामो लाइन लागेको थियो । श्रद्धालुहरू घण्टौँ लाइनमा बसेर भगवान् पशुपतिनाथको दर्शन तथा पूजाआजा गर्न पुगेका थिए ।
आस्थाको यात्रा
पशुपतिनाथ दर्शनका लागि पुगेकी अस्मिता विश्वकर्माका लागि साउनको सोमबारको व्रत धार्मिक आस्था र पारिवारिक सुख–शान्तिसँग जोडिएको छ । आफूहरूले प्रत्येक वर्ष साउनको सोमबार व्रत बसेर पूजा आराधना गर्ने गरेको उनले बताइन् ।
उनले पशुपति क्षेत्रमा सेवा–सुविधा राम्रो भए पनि लामो लाइनका कारण मन्दिरभित्र भगवानको दर्शन पर्याप्त समय गर्न नपाएको गुनासो गरिन् । नेपाली परम्परा र हिन्दु संस्कारलाई पुस्तौँदेखि निरन्तरता दिँदै आएको भन्दै उनले परिवारमा सुख–शान्तिको कामनासहित पूजा गरेको बताइन् ।
उनले भनिन्,‘यो आस्था धर्मप्रति हो, भोलेनाथ वा शिवजी प्रतिको हो । प्रत्येक वर्ष साउनको सोमबार ब्रत बसेर पुजाआजा गर्ने गरेको छु । मन्दिरको व्यवस्थापन राम्रै छ । लाइन बसेर भित्र गयौं तर भगवानको दर्शन गर्न पाएनाैं । लाइन लामो भयो, दर्शन धेरै छोटो भयो ।’
सुन्दरीजलबाट जल लिएर पशुपति पुगेकी अन्जु साहले पनि साउनको सोमबार व्रत बस्दा रोगव्याधि हट्ने धार्मिक विश्वास रहेको बताइन् । उनी अघिल्लो दिन नै सुन्दरीजल पुगेकी थिइन् । राति त्यहीँ बसेर बिहान स्नान गरी जल लिएर पशुपति आएकी उनले लाइनको व्यवस्थापन भने सहज रहेको बताइन् ।
उनले भनिन्,‘ब्रत बस्दा रोगहरु हट्छ भन्ने विश्वास छ । त्यसैले हिजै सुन्दरीजल गएको आज यहाँ आएका हौं । राति त्यही बास बस्यौं । सुन्दरीजलबाट जल लिएर आएको हौं । मन्दिरको व्यवस्थापन ठिकै लाग्यो, आधा घण्टा जति मात्र लाइनमा बस्यौं । भगवानसँग बिमारी चाँडै ठिक होस भनेको छु । फेरी दर्शन गर्न आउँछु, छोराछोरीलाई राम्रो होस् भनेर कामना गरेको छु ।’
भगवान् शिवसँग आफूलाई लागेको रोग निको होस्, आफू स्वस्थ रहन सकूँ र छोराछोरीको जीवन राम्रो होस् भन्ने प्रार्थना गरेको साहले बताइन् ।
भारतको अयोध्याबाट पशुपतिनाथ दर्शनका लागि आएका विद्याधर भारद्वाजका लागि भने यो यात्रा अझ विशेष थियो । भगवान् शिवलाई प्रसन्न पार्ने उद्देश्यले पशुपतिनाथ आएको बताउँदै उनले साउन महिनामा कैलाश मानसरोवर यात्रामा जाने तयारी रहेको जानकारी दिए ।
उनले भने, ‘भगवान शिवलाई प्रसन्न बनाउन बाबाको नगरीमा आएका छौँ । साउन महिनामै कैलाश मानसरोवर जाँदैछौँ । १३ दिने यात्रामा छौं । सोमबारका दिन भगवान भोलेनाथ अधिक प्रसन्न हुनुहुन्छ । अनि माताजीको पनि दिन भएकाले गौरीजी प्रसन्न हुनुहुन्छ भन्ने लाग्छ । जगतको कल्याण वा सबैको कल्याण गरुन भनेर बाबाको चरणमा आएका छौं ।’
उनका अनुसार कैलाश मानसरोवरको १३ दिने यात्राको शुभारम्भ पशुपतिनाथको दर्शनबाट गरिएको हो । सोमबार भगवान् शिवका लागि विशेष दिन भएकाले यस दिन पशुपतिनाथको दर्शन गर्न पाउनु आफूहरूका लागि सौभाग्य भएको उनले बताए । उनले भगवान् शिवसँग समस्त जगत् र सबैको कल्याणको प्रार्थना गरे ।
‘आस्था र विश्वासले नै धर्मलाई जीवन्त राख्छ’
पशुपतिनाथमा भेटिएकी मीना थापाले साउनको सोमबार व्रत बस्ने परम्परा धार्मिक आस्था, विश्वास र संस्कारसँग जोडिएको बताइन् । पार्वतीले भगवान् शिवलाई पति पाउन गरेको तपस्यासँग जोडिएको धार्मिक कथनलाई आधार मान्दै आफूहरूले पनि परम्परादेखि यो व्रतलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ ।
‘साउनको सोमबार शिवजीको ब्रत बस्नु भनेको सृष्टिमा पार्वतीले शिवजी पाऊँ भनेर स्वस्थानीमा पनि आउँछ । त्यसैले यो एउटा आस्था र विश्वास हो,’ उनले भनिन् ।
साउनको सोमबारको व्रत र आजको उद्यापनलाई धार्मिक परम्पराको निरन्तरताका रूपमा लिएको उनले बताइन् । अविवाहित युवतीले यस्तो व्रत बस्दा आफूले चाहेजस्तो योग्य वर प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको उनले उल्लेख गरिन् ।
थापाले पशुपतिमा लागेको भीडलाई आफूले धार्मिक आस्थाको प्रतीकका रूपमा लिएको बताइन् । भगवानसँग व्यक्तिगत मागभन्दा पनि देश र समाजका लागि सद्बुद्धि, सद्भाव, सद्विचार र सद्भावना प्राप्त होस् भन्ने आफ्नो प्रार्थना रहेको उनले सुनाइन् ।
उनले नेपाल राम्रो बनोस्, देशका नेताहरूमा सद्बुद्धि र सद्विचार आओस् तथा नयाँ पुस्ताका नेतृत्वकर्ताहरूले देशलाई सही दिशामा अघि बढाऊन् भन्ने कामना गरिन् ।
‘हामी सबै एउटै आमाका सन्तान हौँ’ भन्ने भाव व्यक्त गर्दै उनले सबै नेपालीबीच माया, सद्भाव र एकता कायम हुनुपर्नेमा जोड दिइन् । धर्मलाई बाहिरी प्रदर्शनभन्दा पनि आत्मशुद्धि, विश्वास र असल आचरणसँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो ।
‘दुःख–कष्ट सहेर गरेको आस्थाको फल पाइन्छ’
बिहानैदेखि पशुपति पुगेकी शिला थापाले साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने गरेको बताइन् । आफूहरू भगवान् शिवकै सन्तान भएकाले शिवको आराधनाबाट परिवार तथा सम्पूर्ण नेपालीको सुख–शान्तिको कामना गर्ने गरेको उनले सुनाइन् ।
परिवारमा सुख–शान्ति कायम होस्, नेपाली जनताले दुःख–कष्ट भोग्न नपरोस् र सबैको जीवनमा राम्रो होस् भन्ने कामनाका साथ आफूले व्रत बस्ने गरेको थापाले बताइन् ।
उनका अनुसार धार्मिक आस्थामा विश्वास राखेर गरिने कर्मको फल अवश्य प्राप्त हुन्छ । दुःख–कष्ट सहेर गरिने धार्मिक कर्मले मानिसलाई आस्था र धैर्य दुवै प्रदान गर्ने उनको विश्वास छ ।
उमा श्रेष्ठका लागि भने साउनको सोमबारको व्रत चार दशक नजिक पुगेको व्यक्तिगत आस्था हो । विवाह हुनुअघिदेखि नै आफूले नियमित रूपमा सोमबारको व्रत बस्दै आएको उनले बताइन् ।
पशुपतिनाथ दर्शनका लागि बिहान ८ बजे पुगेकी श्रेष्ठले यसपटक लाइन व्यवस्थापन सहज रहेको बताइन् ।
परिवारको सुख–शान्ति, छोराछोरीको स्वास्थ्य र रोग–व्याधि हटोस् भन्ने कामनाका साथ आफूले व्रत बस्ने गरेको श्रेष्ठले बताइन् । लामो समयदेखि भगवानप्रति विश्वास राखेर आराधना र प्रार्थना गर्दै आएको र आफ्नो जीवनमा त्यसको सकारात्मक प्रभाव महसुस गरेको उनको भनाइ छ ।
यद्यपि यसपटक उनको सबैभन्दा ठूलो प्रार्थना भने बिरामी छोरीको शीघ्र स्वास्थ्यलाभका लागि छ । ‘भगवानको कृपाले छोरी छिट्टै निको होस्’ भन्ने कामनासहित उनले पशुपतिनाथमा पूजा आराधना गरेकी छन् ।
बोलबम तीर्थालुको पनि भीड
साउनको अन्तिम सोमबार पशुपतिनाथमा व्रतालु र सर्वसाधारण श्रद्धालुसँगै बोलबम तीर्थालुको पनि उल्लेख्य उपस्थिति देखिएको छ । देशका विभिन्न शिवालयमा बोलबम तीर्थालुको चहलपहल बढेको छ ।
काठमाडौंको सुन्दरीजलबाट जल लिएर आएका बोलबम तीर्थालुले उक्त जल पशुपतिनाथमा चढाएर पूजा आराधना गर्ने गरेका छन् । सुन्दरीजलमा स्नान गरी जल बोकेर पशुपतिनाथसम्म पुग्ने धार्मिक परम्पराका कारण बिहानैदेखि भक्तजनको आवागमन बढेको थियो ।
पशुपतिनाथमा देखिएको भीड धार्मिक अनुष्ठानको दृश्य मात्र नभौइ पुस्तौँदेखि चलिआएको आस्था, परम्परा र विश्वासको निरन्तरता पनि हो । कसैले पारिवारिक सुख–शान्ति मागेका छन्, कसैले स्वास्थ्यलाभको प्रार्थना गरेका छन् भने कसैले देश र समाजको कल्याणको कामना गरेका छन् ।