असार १९, काठमाडौं । नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनलमा पुग्न घरेलु टोली मलेसियाबाट ९१ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले किफायती बलिङ गरेको छ। पहिका ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो।

मलेसियाका मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए । कप्तान डिज पार्तो ३२ बलमा १० रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १ विकेट लिए ।
नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।
समूह चरणमा नेपालले खेलेका सबै ४ खेल जितेको थियो । मलेसियाले भने समूह चरणका ४ मध्ये ३ खेलमा सफलता प्राप्त गरेको थियो ।
गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । फाइनलमा नेपालले २ सय २१ रनको जित निकालेको थियो ।
यस खेलको विजेताले उपाधीका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच जारी छ । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।