• २०८३ जेष्ठ १ गते शुक्रवार

पिएम कप फाइनल : आर्मीले पुलिसलाई दियो १ सय ५५ रनको विजयी लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत्र १६, काठमाडौं । बसिर अहमदको महत्वपुर्ण अर्धशतकको सहयोगमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लबविरुद्ध सम्मानजनक योगफल तयार गरेको छ । रुपन्देहीमा जारी पिएम कपको फाइनल खेलमा आर्मीले अर्को विभागीय टोली पुलिसविरुद्ध १ सय ५४ रनको योगफल तयार गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा अल आउट हुदै १ सय ५४ रनको योगफल तयार गर्यो । आर्मीका लागि बसिर अहमदले अविजित रहँदै सर्वाधिक ८६ रन जोडे । उनले १ सय ४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरे । टोलीले २५ रन जोड्दा ५ विकेट गुमाइसकेको अवस्थामा बसिर क्रिजमा आएका थिए । छैठौं विकेटका लागि कप्तान विनोद भण्डारीसँग मिलेर ७२ रनको महत्वपुर्ण साझेदारी गरे ।

कप्तान विनोद ५८ बलमा ३ चौकाको सहयोगमा २९ रनमा आउट भए । सुरुवाती क्रमका ब्याटर सस्तैमा आउट भएर लज्जास्पद स्थितीमा पुगेको आर्मीलाई बसिरले सम्मानजनक योगफलसम्म पुर्याए । नवौं विकेटका लागि बसिरले विवेक यादवसँग मिलेर ३६ रनको साझेदारी गरे । विवेकले २७ बलमा ११ रन जोडे ।

आर्मीको माथिल्लो क्रमको ब्याटिङलाई चल्न नदिन पुलिसका तीव्रगतिका बलर करण केसीले ३ विकेट लिए । सागर ढकालले ३, कप्तान दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी र गुल्शन झाले समान १ विकेट लिए ।

आर्मीले प्रतियोगिताको हालसम्म भएको सबै ६ नै संस्करणको फाइनल खेलेको छ । आर्मीले सन् २०१७ मा भएको पहिलो संस्करणको फाइनलमा पुलिससँग उपाधी बाडेको थियो । भने, उपाधी हालसम्म जितेको छैन ।

उता, पुलिस भने ३ पटक फाइनल पुगेर १ पटक उपाधी बाड्दा २ पटक च्याम्पियन भएको छ । लिग चरणमा शीर्ष २ मा रहेर आर्मी र पुलिसले फाइनल खेल्न लागेका हुन् । लिग चरणको खेलमा पुलिसको लामो अपराजित यात्रा आर्मीले रोकेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस