मंसिर ५, काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बुधबार भेनेजुएलाको भ्रमण गरेका थिए । उनले त्यहाँका अन्तरिम अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै उक्त ल्याटिन अमेरिकी राष्ट्रसँग सैन्य सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत गरे पछि अहिले नयाँ माेडमा अमेरिका र भेनेजुएलाकाे सबन्ध अघि बढिरहेकाे देखिएकाे छ ।

पेन्टागनले हेगसेथको भ्रमणबारे कुनै जानकारी सार्वजनिक गरेन वा यसको पुष्टिसमेत पनि गरेन तर भेनेजुएलाको सरकारी सञ्चारमाध्यममा भने यसको प्रसारण गरिएको थियो। यो भ्रमण यस्तो समयमा भएको छ, जब गत जनवरी महिनामा अमेरिकी सेनाले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गरी लागुऔषध तस्करीको आरोपमा मुद्दा चलाउन उनी र उनकी पत्नीलाई न्यूयोर्क लगेको थियो। त्यसयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको नेतृत्व सम्हाल्न कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई समर्थन गर्दै आएका छन ।
रोड्रिगेज र हेगसेथ दुवैले काराकासस्थित राष्ट्रपतीय भवनमा दुई देशबीच भएको नयाँ सैन्य सम्झौताको प्रशंसा गरेका थिए । रोड्रिगेजले यस सम्झौताले भेनेजुएलाको सेनाका लागि तालिमलाई सुदृढ पार्ने र नयाँ प्रविधिहरूमा पहुँच सहज बनाउने बताए । उनले भने, “यसले दुवै राष्ट्रलाई साझा खतराहरूको सामना गर्न सक्षम बनाउनेछ।”
हेगसेथले अमेरिकाले यस सम्झौतालाई “हाम्रो रक्षा साझेदारीको पुनर्स्थापना र हाम्रा दुई महान् सेनाहरूबीच सहकार्य गर्ने अवसर” का रूपमा हेरेको बताए । यस सम्झौतामा संयुक्त तालिमका साथै दुई राष्ट्रहरूबीच गुप्तचर जानकारीको आदानप्रदान पनि समावेश रहेकाे छ।
पेन्टागन प्रमुखले अमेरिका यो सुनिश्चित गर्न चाहन्छ कि “भेनेजुएलाका जनतालाई विदेशी शक्तिहरू, लागुऔषधसँग जोडिएका आतंकवादीहरू वा अपराधीहरूबाट कुनै खतरा नहोस् र उनीहरू आफ्नै सार्वभौम सीमाभित्र सुरक्षित र ढुक्कसँग रहन सकून्।”
हेगसेथले बुधबार मादुरो सत्ताच्युत भएयता भेनेजुएला “हाम्रो सबैभन्दा आक्रामक क्षेत्रीय खतराबाट परिवर्तन भएर एक सहयोगी सुरक्षा साझेदार” बनेकोसमेत बताउन भ्याएका थिए ।
सन् २०१३ मा सत्ता सम्हाल्नुभएका मादुरोको कार्यकालमा अमेरिका-भेनेजुएला सम्बन्ध तनावपूर्ण बनेको थियो। सन् २०१९ मा ट्रम्पको पहिलो प्रशासनले भेनेजुएलाका विपक्षी नेता हुआन गुआइदोलाई मुलुकको अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएपछि मादुरोले अमेरिकासँगको भेनेजुएलाको औपचारिक कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए ।
मादुरोलाई सत्ताबाट हटाएपछि ट्रम्प प्रशासनले भेनेजुएलालाई विभिन्न माग पूरा गर्न दबाब दियो; जसमध्ये भेनेजुएलाको तेल बजारमा अमेरिकी पहुँच सुनिश्चित गर्ने माग पनि समावेश थियो। ट्रम्पले भेनेजुएलाकी तत्कालीन उपराष्ट्रपति रोड्रिगेजलाई चेतावनी दिँदै यदि उनले वासिङ्टनलाई सहयोग नगरे उनको हालत “मादुरोको भन्दा पनि खराब” हुने बताएका थिए । तर, पछि ट्रम्पले रोड्रिगेजको प्रशंसा गर्दै उनलाई “अति राम्रो व्यक्ति” र “उत्कृष्ट काम गरिरहेकी” व्यक्तिका रूपमा चित्रण गरेका थिए ।
रोड्रिगेजको नेतृत्वमा भेनेजुएलाले राजनीतिक बन्दीहरूलाई रिहा गरेको छ र अमेरिकातर्फ तेलको आपूर्ति सहज बनाएको छ। यस प्रक्रियामा तेल बिक्रीबाट प्राप्त रकम अमेरिकाको नियन्त्रणमा रहन्छ र एक ऊर्जा सम्झौताअन्तर्गत उक्त रकम फिर्ता गरिन्छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाको सत्ता हस्तान्तरण प्रक्रियाको निगरानी गरिरहेकाे छ । उनी रोड्रिगेजसँग निरन्तर सम्पर्कमा रहेका छन् ।
मादुरोलाई सत्ताबाट हटाएपछि भेनेजुएलामा कुनै न कुनै समय निर्वाचन हुने अपेक्षा गरिएको छ। तर, रोड्रिगेजको सरकारले अमेरिकाप्रति अनुकूल व्यवहार देखाइरहेको अवस्थामा निकट भविष्यमै निर्वाचन हुने सम्भावना अनिश्चित छ। हालै भेनेजुएला आइपुगेकी नोबेल पुरस्कार विजेता तथा विपक्षी नेतृ मारिया कोरिना माचाडोले निर्वाचन गराउन जोड दिइरहेकी छिन् ।