साउन २४, काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुन प्रकरणबारे छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउँदा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभा बैठकमा गौतमले छानविन समिति गठन गर्दा क्षेत्राधिकारको प्रश्न उठने र यस्ले अहिले जारी छानविनलाई नै ओझेलमा पार्ने बताए ।

यही कारण पनि उनले अहिले सिआइबीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने बताए । ‘उच्चस्तरीय छानविन समिति बनाउने बित्तिकै त्यसको कार्यदेश, कार्यक्षेत्र हुन्छ, कहाँसम्म प्रवेश गर्ने? त्यो प्रधानमन्त्रीसम्म प्रवेश गर्छ, अर्थमन्त्रीमा पनि प्रवेश गर्छ, गृहमन्त्रीसम्म पनि प्रवेशको माग गर्छ । निलम्बनको व्यवस्था त छैन हाम्रोमा, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, अर्को प्रधानमन्त्री निर्वाचित गर्ने प्रक्रिया सुरू हुन्छ। जसले यो छानविनलाई ओझेलमा पारिदिन्छ । त्यसैले कामै गर्न सक्ने स्थिति हुँदैन ।’
अलग्गै समिति बनाउँदा अहिले छानबिन भएर अगाडि बढिरहेको अवस्थामा झन् समस्या बढ्ने राष्ट्रिय सभा सदस्य गौतमको भनाइ छ । उनले सरकारले नै छानविनका लागि समय माग गरेकाले पर्खनुपर्ने र त्यसपछि मात्रै उच्चस्तरीय छानबिन समिति माग गर्नुपर्ने जिकिर गरे ।