• २०८३ बैशाख २३ गते बुधवार

स्थानीय तहका पूर्व प्रमुख संसदको तयारीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २५, धनगढी ।  २०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदमा विजयी भएका केही नेताले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सांसदको उम्मेदवारी दर्ता गराएको छन् ।

२०७४ मा कैलालीको टिकापुर नगरपालिका मेयरमा निर्वाचित बनेका तपेन्द्रबहादुर रावलले यस पटक प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन् । उनले कैलाली–१ मा एमालेका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

यसैगरी बैतडीको पाटन नगरपालिकाका पूर्व मेयर केशव चन्दले पनि प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका चन्दले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि स्वतन्त्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी २०७४ को निर्वाचनमा कैलालीको गोदावरी नगरपालिकाको मेयरमा विजयी भएका हरि सिंह साउँदले यस पटक प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनले नेकपा एमालेबाट कैलाली–४ को प्रदेश सभा क्षेत्र ख मा प्रतिस्पर्धा गर्दैछन् ।

त्यसैगरी २०७४ को निर्वाचनमा गौरीगंगा नगरपालिकाका मेयर बनेका भीम देउवाले पनि प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनी नेकपा एमालेबाट कैलाली–४ को प्रदेशसभा क्षेत्र क बाट उम्मेदवारी दिएका हुन् ।

कञ्चनपुरको क्षेत्र नम्बर-३ प्रदेश सभा क्षेत्र ख मा सुरेन्द्र विष्टले उम्मेदवारी दिएका छन् । उनी २०७४ को निर्वाचनमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए । उनी नेकपा एमालेबाट प्रतिस्पर्धा गर्दैछन् ।

बैतडीको सूर्नयाँ गाउँपालिकाका पुर्व अध्यक्ष वीरबहादुर विष्टले पनि प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट सूर्नयाँ गाउँपालिकाका अध्यक्ष बनेका थिए । यसपटक पनि उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसबाट प्रदेश सभा क्षेत्र ननम्बर क बाट प्रतिस्पर्धा गर्दैछन् ।

बैतडीको पुचौडी नगरपालिकाकी पूर्व उपमेयर जानकी ऐर बम प्रदेश सभाका लागि एमालेको समानुपातिक सूचीमा छन् । २०७४ मा लम्कीचुहा नगरपालिकाकी उपमेयर बनेकी पूजा थापा नागरिक उन्मुक्तिको समानुपातिक सूचीमा रहेकी छन् । उनी २०७४ को निर्वाचनमा नेकपा एमालेबाट उपमेयर पदमा विजयी भएकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस